लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएकी छन्।
शुक्रबार लम्कीचुहा–४ बलियास्थित यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गर्न बलिया पुगेका मुख्यमन्त्री शाहले लम्कीचुहा अस्पतालका विषयमा सार्वजनिक मञ्चबाट अभिव्यक्ति दिएका थिए। सो क्रममा उनले अनावश्यक भ्रम फैलाइएको र प्रदेश सरकारलाई काम गर्न नदिएको आशय व्यक्त गरेका थिए। करिब १५ मिनेट बोलेका मुख्यमन्त्री शाहले उद्घाटन कार्यक्रममा सम्बन्धित विषय भन्दा पनि अस्पतालकै विषयमा बोलेर समय सकेका थिए।
यसै विषयलाई काउन्टर गर्दै नगर प्रमुख शाहीले एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको भनाइलाई भ्रामक, तथ्यहीन तथा द्वन्द्व उक्साउने खालको भएको आरोप लगाएकी छन्। विज्ञप्तिमा स्थानीय सरकारको अधिकार, कानुनी प्रक्रिया र जनभावनाविपरीत कुनै पनि एकपक्षीय निर्णय स्वीकार्य नहुने स्पष्ट परेकी छन।
नगरपालिकाले प्रादेशिक अस्पताल स्थापनाका लागि आफूहरू सुरुदेखि नै सकारात्मक रहेको जनाउँदै कानुनी प्रक्रिया, समझदारी र संस्थागत सहकार्य बिना गरिने हस्तक्षेप संघीयता र स्थानीय स्वायत्ततामाथिको प्रहार भएको उल्लेख गरेको छ।
त्यस्तै, सर्वोच्च अदालतमा विचाराधीन विषयमा जिम्मेवार पदाधिकारीबाट सार्वजनिक रूपमा अभिव्यक्ति दिनु संवैधानिक मर्यादाविपरीत भएको भन्दै नगर प्रमुख शाहीले आपत्ति जनाएकी छन्।
शाहीले स्पष्ट कार्यढाँचा र सहमतिका आधारमा प्रदेश सरकारले वार्तामा बोलाए दुई दिनभित्रै समस्या समाधान गर्न आफूहरू तयार रहेको बताएकी छन्। अन्यथा स्थानीय अधिकार मिच्ने प्रयास भएमा कानुनी र प्रशासनिक सबै विकल्प प्रयोग गर्न बाध्य हुने चेतावनी समेत दिएकी छन्।
नगरपालिकाले आम नागरिकलाई भ्रामक सूचना र प्रचारको पछि नलाग्न आग्रह गर्दै गुणस्तरीय स्वास्थ्य सेवाप्रति आफूहरू प्रतिबद्ध रहेको पनि दोहोर्याएकी छन्।




