कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरीको गुल्मभित्र प्रवेश गरेर सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलसहितमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका एक जनालाई कारागार चलान गरिएको छ ।
जिल्ला अदालत कैलालीले बिहीबार थुनछेक बहसपछि टीकापुर नगरपालिका–९ का ४० वर्षीय रामबहादुर साउदलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
साउदलाई अदालतले कारागार चलान गर्न आदेश दिएको छ । किटानी जाहेरीपछि फरार अन्यको हकमा भने पक्राउ परेपछि निर्णय लिइने जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० योगेन्द्र तिमिल्सिनाले अदालतको आदेशपछि साउदलाई बिहीबार नै कारागार चलान गरिएको बताए ।
तिमिल्सिनाकाअनुसार डीएसपी पौडेलले साउदसहितविरुद्ध अपराधिक उपद्रव मुद्दा दिएका थिए । साउदसँगै अन्य पाँच जनाविरुद्ध पनि जाहेरी परेको थियो ।
फरार टीकापुरकै नयन साउद, सर्पराज साउद, सुरेश खड्का, रमेश खड्का तथा भारतको लखिमपुरखिरी निवासी रशिद आलिखानको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरीको खक्रौला गुल्मले जिएसटी बिल र भारतीय भन्सार पास भएका टीकापुरका व्यवसायीका सामान जफत गरेपछि विवाद भएको थियो ।
व्यवसायी पक्षले आपत्ति जनाउँदै टीकापुर उद्योग वाणिज्य संघको टोलीसहित गुल्ममा छलफलका लागि पुगेका बेला डीएसपीसहितमाथि आक्रमण गरिएको थियो ।
घटनापछि सशस्त्र प्रहरीले बिल बिजक परीक्षण गर्दा कागजात भेटिएपछि उद्योग वाणिज्य संघमार्फत सम्बन्धित व्यवसायीलाई सामान फिर्ता गरिएको थियो ।
घटनाको समयमा डिउटीमा खटिएका डीएसपीसहितका सशस्त्र प्रहरीलाई हेटक्वाटर तानेर छानबिन अघि बढाइएको थियो ।







