कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ स्थित काँडा खोलामा नवनिर्मित पुलको शिलालेख तोडफोड भएको भन्दै सामाजिक सञ्जालमा फैलिएको खबरप्रति जनप्रतिनिधिहरूले कडा आपत्ति जनाएका छन्। नेकपा एमालेका तत्कालीन सांसद झपटबहादुर रावल र बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले उक्त दाबीलाई आधारहीन, तथ्यहीन र समाजमा भ्रम फैलाउने षड्यन्त्र भन्दै खण्डन गर्नुभएको छ।
सामाजिक सञ्जालको पालिका समय नामक पेजमार्फत पूर्व सांसद रावलले शिलान्यास गरेको शिलालेख अध्यक्ष कुँवरले र अध्यक्ष कुँवरले उद्घाटन गरेको शिलालेख रावलले तोडफोड गरेको भन्ने आशयका सामग्रीहरू सार्वजनिक भएका थिए। सो पुलको शिलान्यास २०७९ असार २२ गते तत्कालीन सांसद झपटबहादुर रावलले गर्नुभएको थियो भने २०८० माघ ४ गते गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गर्नुभएको थियो।
पूर्व सांसद रावलले शिलालेख तोडफोडको कुरा कल्पना बाहिरको रहेको बताउनुभएको छ। उहाँले भन्नुभयो, “मैले शिलान्यास गरेँ र कर्णजीले उद्घाटन गर्नुभयो। शिलालेख तोडफोड गर्ने कुरा सोच्न पनि सकिँदैन। हामी विकासका काम बनाउन र जोगाउन लाग्छौँ, बिगार्न होइन। केही तत्त्वहरूले हामीबिच विवाद सिर्जना गर्ने असफल प्रयास गरेका हुन्।”
गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सामाजिक सञ्जालमार्फत आफ्नो र रावलको बदनाम गर्ने उद्देश्यले भ्रम छरिएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “पालिका समय नामक पेजबाट हामीबिच दूरी बढाउन र समाज भाँड्न यस्तो भ्रम सिर्जना गरिएको छ। मेरो बदनाम गर्ने र समाज विखण्डन गर्नेहरू विरुद्ध हामी कानुनी उपचारमा जान्छौ। समाज भाँड्ने जोसुकै भए पनि कानुनी दायरामा आउनुपर्छ।”
इलाका प्रहरी कार्यालय बौनियाका अनुसार पालिका समय फेसबुक पेजका सञ्चालक कमल बोहराले आफू प्रेस काउन्सिलको सदस्य रहेको दाबी गर्दै यो समाचारसँग सम्बन्धित विषय भएकाले प्रेस काउन्सिलमै उजुरी गर्न सुझाएका छन्।
तर, नेता रावल र अध्यक्ष कुँवरले भने उक्त सामग्री समाचार नभई व्यक्तिगत फेसबुक स्ट्याटसका रूपमा आएकाले यसको प्रेस काउन्सिलसँग सम्बन्ध नरहने जिकिर गर्नुभएको छ। उहाँहरूले सम्बन्धित पक्षलाई सामाजिक सञ्जालमा जथाभाबी स्ट्याटस लेख्नुभन्दा तथ्यपूर्ण समाचार लेख्न र असल पत्रकारिताको धर्म निर्वाह गर्न समेत सुझाव दिनुभएको छ।


