सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारतको नयाँ दिल्ली गएका छन्। शाह शुक्रबार बिहान धनगढीबाट स्थलमार्ग हुँदै दिल्ली प्रस्थान गरेका हुन्।
मुख्यमन्त्री शाहको दायाँ खुट्टामा रीढको हड्डी र नसा सम्बन्धी समस्या देखिएपछि केही दिनदेखि हिँडडुलमा कठिनाइ भइरहेको सचिवालयले जनाएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरे पनि सुधार नआएपछि उनी काठमाडौँ पुगेका थिए। काठमाडौँमा पनि पूर्ण रूपमा समस्या नहटेपछि चिकित्सकको सल्लाहअनुसार दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका लागि गएका हुन्।
मुख्यमन्त्री शाहको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट नभई व्यक्तिगत रूपमा व्यहोर्ने सचिवालयले स्पष्ट गरेको छ।
मुख्यमन्त्री शाह दिल्ली प्रस्थान गरेसँगै आर्थिक मामिला मन्त्री बहादुर सिंह थापालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको प्रदेश सरकारले जनाएको छ।


