मदन भण्डारी फाउन्डेसन कैलाली जिल्ला कमिटीको सचिवालय बैठक मङ्गलबार घोडाघोडी नगरपालिका– १ सुखडमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा बसेको बैठकले आगामी वर्षका लागि कार्ययोजना तर्जुमा गर्दै विभिन्न संयन्त्रहरू गठन गर्ने निर्णय गरेको हो।
बैठकले मदन भण्डारी स्पोर्ट्स एकेडेमी गठन गरी त्यसको संयोजकमा कमल न्यौपाने, सह–संयोजकमा पूर्णराज जोशी र सदस्यमा करण परियार रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ।
त्यस्तै, मदन भण्डारी बौद्धिक मञ्चको संयोजकमा रघुनाथ जोशी, सह–संयोजकमा धनराज अवस्थी र सदस्यमा हिरालाल गिरी रहने गरी अर्को तीन सदस्यीय समिति गठन गरिएको छ। साथै, बैठकले मदन भण्डारी कला–साहित्य प्रतिष्ठान गठन गर्ने निर्णयसमेत गरेको छ।
बैठकले यी संरचनामार्फत जिल्लाव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, जनताको बहुदलीय जनवाद (जबज) को व्यापक प्रचार–प्रसार अभियान सञ्चालन गर्ने, र सांगठनिक सशक्तीकरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।
साथै, मदन भण्डारी फाउन्डेसन कैलाली जिल्ला समिति सचिवालय सदस्य राधा जैशीकी ममतामयी आमाको असामयिक निधनप्रति गहिरो दुःख प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। बैठकले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ।
बैठकको समापनपछि घोडाघोडी नगर कमिटीद्वारा खिर खाने कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा फाउन्डेसनका पदाधिकारी, सदस्य, पालिकास्तरीय अध्यक्षहरू तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन फाउन्डेसनका जिल्ला सचिव मीन बहादुर रावलले गरेका थिए।


