कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा रहेको राजधानी सेकुवा एण्ड म:म सेन्टरमा कार्यरत १७ वर्षीया याचना सेजवालको चक्कु प्रहारबाट हत्या गरिएको छ।
सेजवाल सोही गाउँपालिकाको वडा नम्बर ३ की बासिन्दा थिइन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार शनिबार बिहान करिब १० बजे सेजवालमाथि सोही रेस्टुरेन्टमा काम गर्ने ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेका थिए।
घटनापछि गम्भीर घाइते भएकी सेजवाललाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिने भएको छ।
चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी सिंहले जानकारी दिएका छन्।
घटनाको कारण खुल्न सकेको छैन।


