
कैलाली : बङ्गलादेशमा सम्पन्न भएको महिला एसिया कप क्रिकेटको उपाधि श्रीलङ्कन महिला टोलीले हात पारेको छ । साविक विजेता भारतलाई ८ विकेटले पाखा लगाउँदै श्रीलङ्काले पहिलो पटक एसिया कपको उपाधि चुमेको हो ।


श्रीलङ्काको रंगगिरी क्रिकेट स्टेडियममा आइतबार भएको उपाधि भिडन्तमा भारतले दिएको १ सय ६६ रनको विशाल लक्ष्य पछ्याएको श्रीलङ्काले ८ ओभर ४ बलमा मात्रै २ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि हर्शिता समराविक्रमाले सर्वाधिक ६९ रनको अविजित अर्धशतकीय पारी खेलिन् । ५१ बलको सामना गरेकी उनले ६ चौका र २ छक्का प्रहार गरिन् । ओपनर तथा कप्तान चमिरा अथापाथ्थुले पनि ६१ रन अर्धशतकीय पारी खेल्दै टोलीलाई जित तर्फ डोर्याएर पेभिलियन फर्किएकी थिइन ।
कबिसा दिलहारीले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ३० रन बनाइन् । तेस्रो विकेटका लागि समराविक्रमा र दिलहारीले ४० बलमा अविजित ६३ रनको विजयी साझेदारी गरेका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । भारतका लागि ओपनर स्मृति मन्धनाले सर्वाधिक ६० रन बनाइन् । स्मृतिले ४७ बलमा १० चौका प्रहार गरेकी थिइन् ।

रिचा घोषले ३०, जेमिमा रोड्रिगेजल १८ रन बनाउँदा अर्की ओपनर शेफाली बर्माले १६ रन बनाइन् । कप्तान हरमन प्रित कौरले ११, उमा क्षेत्रीले ९ रन बनाइन् ।

श्रीलङ्काका लागि केबिसा दिलारीले २, सचिनी निसानसाला, उदेशिका प्रबोधनी र कप्तान चमिरा अथापाथ्थुले समान १ विकेट हात पारिन् ।
भारतलाई पराजित गर्दै श्रीलङ्का पहिलो पटक च्याम्पियन बनेको हो । पराजित भारत सात पटकको च्याम्पियन टोली हो ।

महिला एसिया कपको इतिहासमा भारत दोस्रो पटक फाइनलमा पराजित भएको हो । यसअघि २०१८ को एसिया कपको उपाधि भिडन्तमा बंगलादेशसँग पराजित भएको थियो ।