नेपाल कम्युनिस्ट पार्टीका संस्थापक तथा महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठको सम्झनामा कैलालीको बर्दगोरियामा स्मृति सभा गरिएको छ । नेकपा एमाले बर्दगोरिया गाउँ कमिटीको आयोजनामा भएको स्मृति सभा कार्यक्रममा कम्युनिस्ट नेता कार्यकर्ताहरूले पुष्पलालको चर्चा गरे ।
गाउँ कमिटी अध्यक्ष मधुकर सिजापति मगरको अध्यक्षतामा भएको स्मृति सभा कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । यस्तै कार्यक्रममा प्रदेश कमिटी सदस्य भीम कुँवर, प्रदेश सल्लाहकार समिति सदस्य साबित्रा सापकोटा लगायत जिल्ला तथा गाउँ कमिटीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका वक्ताहरूले पुष्पलाल श्रेष्ठले जनताको पक्षमा अधिकार स्थापित गर्न तथा जनताको स्वतन्त्रताका लागी कम्युनिस्ट आन्दोलनको बीजारोपण गरेको भन्दै चर्चा गरे । उनैले पञ्चायती निरङकुस्ता अन्त्यका लागी संयुक्त आन्दोलनको कार्यदिशा अघि सारेको भन्दै नेकपा घोषणा पत्र र कार्यान्वयनमा उनको भूमिकाका विषयमा समेत चर्चा गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुँवरले पुष्पलालले कम्युनिस्टको बीजारोपण गर्दै पञ्चायती निरङकुस्ता विरुद्ध डटेर लागेको र विश्व कम्युनिस्ट घोषणा पत्रलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरेको समेत उल्लेख गरे । “पुष्पलालले नेकपा स्थापना गर्दा घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, बालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदुर किसान र श्रमजीवी जनताको हितमा लागिपर्ने उल्लेख गरेका थिए । यस अर्थमा पनि उनी जनपक्षिय, दुरदृष्टिकर्ता र खास कम्युनिस्ट नेता थिए । उनले नेकपा स्थापना तथा कम्युनिस्ट आन्दोलनका नायकका रूपमा हामी सबैले स्मरण गर्ने गरेका छौ ।” उनले भने ।
नेकपा स्थापना, कम्युनिस्ट आन्दोलन र पुष्पलालको भूमिकाको चर्चा गर्दै बुधवार बर्दगोरिया सहित देशभर नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले विभिन्न कार्यक्रमको आयोजना गरी स्वर्गीय पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस मनाएका छन् ।


