सरिता चन्द

कैलाली बहुमुखी क्याम्पसमा विज्ञान संकाय प्रमुखका रूपमा कार्यरत रमा देवी जोशीले त्रिभुवन विश्वविद्यालयअन्तर्गत भौतिक शास्त्रमा विद्यावारिधि (पि.एच.डी. गरेकी छन् । उनी सो क्याम्पसबाट पी.एच.डी सम्पन्न गर्ने पहिलो महिला हुन् । उक्त उपलब्धि सुदूरपश्चिम क्षेत्रकै लागि गर्वको विषय बनेको छ ।
उनले पिएचडी शोध “सोलिड स्टेट लाइटिङ एप्लिकेसनहरूको लागि नानोफोस्फोरसको संश्लेषण र चरित्रीकरण” शीर्षकमा आधारित रहेको छ । डा.जोशीको अनुसन्धान कार्यले विशेष गरी नानोविज्ञान र प्रकाश प्रविधिको क्षेत्रमा योगदान पु¥याएको छ ।
उनको पिएचडी प्रोफेसर डा. भवानी दत्त जोशीको सुपरिवेक्षणमा र आर. प्रविणाको सह–मार्गदर्शनमा सम्पन्न भएको हो । अनुसन्धानको क्रममा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा आफ्ना अनुसन्धान लेखहरू प्रकाशित गरेकी छन् ।

डा.जोशीले राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानबाट अनुसन्धानको लागि फेलोसिप समेत प्राप्त गरेकी थिइन् । फेलोसिपअन्तर्गत गरिएको अनुसन्धान कार्यले विद्यावारिधिमा उत्कृष्ट योगदान पु¥याएको छ ।
२०६६ सालमा कैलाली बहुमुखी क्याम्पसमा सहायक प्राध्यापकको रूपमा शिक्षण सेवा सुरु गरेकी जोशी हाल सोही क्याम्पसमा विज्ञान संकाय प्रमुखको रूपमा कार्यरत छन् ।
विगत डेढ दशकदेखि विज्ञान शिक्षामा सक्रिय रहँदै आएकी उनको समर्पण, अनुसन्धान प्रतिको रुचि र नेतृत्व क्षमताले शैक्षिक क्षेत्रमा प्रेरणादायी योगदान पु¥याएको छ । शैक्षिक वृत्तमा उनको यो सफलता प्रशंसायोग्य मात्र नभई सुदूरपश्चिमका भावी अनुसन्धानकर्ता तथा महिला वैज्ञानिकहरूका लागि प्रेरणाको स्रोतसमेत बनेको छ ।

बझाङ जिल्लाको जुजी मेलौलीमा जन्मिएकी उनका पिता राम प्रसाद जोशी र माता जानकी देवी जोशी हुनुहुन्छ । २०४३ सालमा जन्मिएकी डा। जोशीले ग्रामीण पृष्ठभूमिबाट शिक्षाको माध्यमबाट प्रगतिको मार्ग तय गर्दै आज देशकै अग्रणी अनुसन्धान कर्तामा आफ्नो स्थान बनाउन सफल भएकी छन् ।
जोशीको यो सफलता केवल व्यक्तिगत उन्नतिको उदाहरण मात्र होइन, समाजका अन्य महिलाहरूका लागि प्रेरणाको स्रोत हो । सुदूरपश्चिममा विज्ञान अध्ययन र अनुसन्धानमा रुचि राख्ने युवाहरूका लागि यो उपलब्धि मार्गदर्शनको उज्यालो किरण बन्न पुगेको छ । विशेषतः महिला सहभागिता र समानताको पक्षमा यो सफलता ऐतिहासिक मानिन्छ ।
शैक्षिक वृत्तमा उनको योगदान अत्यन्तै सराहनीय छ । शैक्षिक समुदाय, विद्यार्थी, सहकर्मी तथा सम्पूर्ण सुदूरपश्चिमवासीहरूबाट डा.रमा देवी जोशीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरिएको छ ।
उनको यो उपलब्धिले नेपाली महिलाहरूको वैज्ञानिक क्षेत्रमा बढ्दो उपस्थिति र सशक्तीकरणको सुन्दर उदाहरण प्रस्तुत गरेको छ ।
