कैलालीको घोडाघोडीमा निर्माण कम्पनीका ठेकेदारको मनपरीले सम्झौताको झण्डै चार वर्ष हुँदा समेत नगरपालिका भित्रका चार ओटा सडक कालो पत्रेको काम अलपत्र परेको छ ।

निर्माण कम्पनी श्री के एस टेडी मणिलेक जोइन्ट भेन्चर, धनगढी कैलालीले नगरपालिकासँग २०७८ माघ २३ गते नगरभित्रका चार ओटा सडक संयुक्त रूपमा कालो पत्रे गर्ने भन्दै सम्झौता गरेको थियो । जसको निर्माण अवधि एक वर्ष मात्रै थियो । त्यस सम्झौता अनुसार सडक कालोपत्रेको काम २०७९ माघ २३ गते सम्पन्न गरिसक्न पथ्र्यो । तर काम सम्पन्न नभएपछि नगरपालिकाले ६ महिना समयावधि थप गरिदियो । समयावधि थप गरे पनि निर्माण कम्पनीले कुनै कार्य अगाडि बढाउन सकेन् ।
नगरपालिका भित्रका वडा नं. १ र ८ जोड्ने सुखड–लठुवा सडक, डोके बजारदेखि वडा नं. ५ को कार्यालयसम्म जोड्ने सडक, महेन्द्र राजमार्गदेखि माघी होमस्टे जाने सडक वडा नं.४ र महेन्द्र राजमार्गदेखि डिभिजन वन कार्यालय हुँदै तुलसीपुर सामुदायिक वनको पूर्व पट्टी वडा नं. १० को सडक यी चार सडक कालोपत्रेका लागि श्री के एस टेडी मणिलेक जोइन्ट भेन्चर, धनगढीले २ करोड ४१ लाख ३५ हजार १ सय ८५.४८ रुपैयाँमा सम्झौता गरेको थियो । सम्झौता अवधि सम्पन्न भएर नगरले थप गरेको समयावधि सकिदा समेत ठेकेदारले काम नगरेपछि आफूहरूले कारबाही प्रक्रियाका अगाडी बढाए पनि अन्तिममा आएर सङ्घीय सरकारले नगरपालिकालाई कुनै जानकारी नगराई ६ महिना समय थप गरी दिएको वडा नं. ५ का अध्यक्ष लोक बहादुर चन्दले बताए ।

‘हामीले कारबाही प्रक्रियाका लागि फाइल अगाडि बढाइ सकेको अवस्थामा अन्तिममा सङ्घीय सरकारले ६ महिना समयावधि थप गरिदियो, ‘हामी जनताको प्रत्यक्ष सम्पर्कमा हुन्छौ, जनताले हामीलाई नै भन्ने हुन , अहिले त्यो सुमय पनि सकियो तर काम सुरु भएको छैन उनले भने ।

हाल सडकमा पहिले हालेको ग्राभेल मात्रै छ । त्यस यता निर्माण कम्पनीले कुनै काम अगाडि बढाउन सकेको छैन । तर, वडा नं. १ र ८ जोड्ने सुखड–लठुवा खण्डमा भने प्राइम हानेर पनि कालोपत्रेको काम भने अगाडी बढ्न सकेको छैन । घोडाघोडी नगरपालिकाका इन्जिनियर नवीन मल्लले ठेकेदारले धेरै ठाउँमा ठेक्का लिने र अन्तिममा काम गर्न नसक्दा सडक कालोपत्रेको काम अलपत्र परेको बताए । मल्लले अब बाँकी प्रक्रिया कार्यपालिकाले जे गर्छ त्यही अनुसार अगाडि बढ्ने बताए ।
सम्झौता गरेको लामो समय हुदा समेत कुनै काम अगाडि नबढाएका ओलीले वर्षाको समयमा प्राइम हालेका थिए । त्यसबेला वर्षा भएका कारण निर्माण कार्य अगाडि बढाउन नसकेको भन्दै पन्छिएका ओलीले हालसम्म पनि काम अगाडी बढाएका छैनन् ।

नगर प्रवक्ता घनश्याम ओझाले भने मङ्गलवार मात्र ठेकेदार सम्पर्कमा आएको जानकारी दिए । लामो प्रयासपछि ठेकेदार साप सम्पर्कमा आउनुभएको छ, अब सडक कालोपत्रेको काम अगाडी बढ्छ उनले भने ।
यी चार सडक कालोपत्रेको ठेक्का अघिल्लो कार्यकालका नगर प्रमुख ममता प्रसाद चौधरीको पालामा भएको थियो । दोस्रो कार्यकालका जनप्रतिनिधिको कार्यकाल आधाभन्दा बढी हुँदा समेत काम अघि नबढ्दा जनताले सास्ती खेप्नु परेको छ ।