कैलालीको टिकापुरमा अत्याधुनिक पुस्तकालय शनिवारबाट सञ्चालनमा आएको छ । सोही ठाउँमा रहेको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे ।

पुस्तकालयका लागी टीकापुर सरोकार समूहले अगुवाइ गरेको हो भने रुपारेलिया फाउन्डेसन युगान्डा र गगन फाउन्डेसनले आर्थिक सहयोग गरेका हुन । पुस्तकालय विस्तारका लागि नेपाल लाइब्रेरी फाउन्डेसन नेपालले समेत प्राविधिक सहयोग गरेको छ ।
१२ लाख लागत रहेको पुस्तकालयमा १० थान कम्प्युटर, १ थान ल्यापटप, प्रिन्टर, स्क्यान, बारकोड रिडर, सर्भर कम्प्युटर राखिएको छ । साथै पाठ्यसामग्रीमा आधारित विभिन्न विद्याका दुई हजार भन्दा बढी नयाँ पुस्तकहरू समेत थपिएको छ ।
पुस्तकालयमा ९ हजार ७ सय ४८ डिजिटल पुस्तक, ३ हजार ८ सय ४९ अडियो पुस्तक, ३ हजार ५ सय १८ शिक्षा केन्द्रित भिडियो, बाल केन्द्रित ई- पाठ, विकिपिडिया (स्कुल), ४ हजार ८ सय २ जना लेखकका पाठ्यक्रममा आधारित ज्ञान वर्द्धक पुस्तक र पठन सामग्री राखिएका छन् ।
पुस्तकालय स्थापनाले शैक्षिक गुणस्तर वृद्धि गर्न मद्दत पुग्ने विद्यालयका पूर्व विद्यार्थी एवम् टीकापुर सरोकार समूहका अध्यक्ष प्रशान्त अर्यालले बताए ।



