कैलालीको घोडाघोडीमा संस्थागत विद्यालय घोडाघोडी कलस्टर समितिले शिक्षक शिक्षिकाको पेशागत विकासका लागि एक दिने उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । माघ १२ गते सुखडमा कार्यक्रम गर्दै संस्थागत विद्यालयमा अध्यापनरत शिक्षक/शिक्षिकाहरुका लागि उक्त कार्यक्रम गरेको हो ।

सोमवार घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममको सभापतित्व कलस्टर समितिका अध्यक्ष रवि लाल आचार्यले गरेका थिए, भने प्रमुख अतिथि घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापक डा. दीपकराज जोशी रहेका थिए ।
यस्तै विशिष्ट अतिथिमा घोडाघोडी क्याम्पसका प्रमुख लक्ष्मी प्रसाद भट्टराई र शैक्षिक अभियन्ता क्षेत्रप्रसाद ज्ञवाली तथा अतिथिमा घोडाघोडी क्याम्पसका अध्यक्ष तथा सीएस अस्पताल सुखडका सञ्चालक बिष्णु प्रसाद सापकोटा, कुल प्रसाद भट्ट, नैन बहादुर बोहरा, पीआर भण्डारी लगायतका व्यक्तिहरू रहेका थिए । कार्यक्रमको सञ्चालन तुलाराम आचार्यले गरेका हुन् ।
कार्यक्रममा नगरभित्र रहेका २२ वटा संस्थागत विद्यालयमा कार्यरत करिब ४ सय शिक्षक तथा शिक्षिकाहरु सहभागी भएका थिए । पीआर भण्डारीले स्वागत मन्तव्य दिँदै कार्यक्रमको सुरुवात भएको थियो । स्वागत मन्तव्य दिँदै भण्डारीले विद्यार्थीहरुलाई पढाइका साथै अतिरिक्त ज्ञानहरुमा विशेष जोड दिनुपर्ने बताएका थिए । उनले संस्कारसहितको शिक्षा दिन लाग्नु पर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका डा.दीपकराज जोशीले शिक्षा क्षेत्रको सुधारका लागि शैक्षिक जागरणको आवश्यकता रहेको औँल्याएका थिए । उनले शिक्षा र संस्कारकै कारण अहिले संस्कृतिको विकास भइरहेको बताउँदै शिक्षाले संस्कार र संस्कारले शिक्षालाई जोड्ने पुलको काम गरेको बताएका हुन् । शिक्षामा सुधार पढाईले मात्रै नभएर पढाइ सँगसँगै अन्य अतिरिक्त क्रियाकलाप गर्नुपर्ने आवश्यकता रहेको जोशीको भनाइ थियो ।
कार्यक्रममा सहभागी शिक्षक शिक्षिकाहरूलाई शैक्षिक अभियन्ता क्षेत्र प्रसाद ज्ञवालीले करिब २ घण्टा प्रशिक्षण दिएका थिए । ज्ञवालीले आफू कसरी खुसी हुने र पेशनलाई खुसी साथ आत्मसात गर्ने भन्ने कुराको जानकारी गराउँदै असल नेतृत्व क्षमता विकासको बारेमा उत्प्रेरणा सहितको प्रशिक्षण दिए ।

संस्थागत विद्यालय कलस्टर समितिले आउँदो वर्षदेखि पालिका स्तरीय कार्यालय गर्ने पनि बताएको छ ।


