नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता डडेल्धुराबाट खेल्ने भएका छन् ।

क्रिकेटको शहर भनेर चिनिने कैलालीको धनगढीमा यही माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा सहभागीता जनाएको डडेल्धुराको फेन्ड्स क्लबबाट भुर्तेलले खेल्ने भएका हुन् ।
धनगढी स्थिति फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा माघ १९ गते हुने उद्घाटन खेलमा डडेल्धुराको फेन्ड्स क्लबले आफ्ना प्रमुख खेलाडीको रुपमा कुशललाई मैदान उतार्दै डिसिए धनगढी विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । प्रतियोगिताको खेललाई प्रत्यक्ष रुपमा मैदानमा गएर हेर्नका लागि खल्ती एपबाट टिकट काट्न सकिने सुविधा दिईएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका खेलहरु हेर्नका लागि खल्ती एपमा अर्जुन ट्रफीको टिकट काट्ने सुविधा सुरु भईसकेको छ । डिजिटल वालेट खल्तीबाट टिकट काटेर खेल हेर्ने दर्शकहरुलाई टिकट बराबरको आकर्षक उपहार पनि दिईने भएको छ ।
यस्तै कुशल समावेश रहेको फेन्ड्स क्लब डडेल्धुराले माघ २१ ग्ते वोष्टन क्रिकेट झापासँग खेल्नेछ भने माघ २४ गते घोडाघोडी-११ सुखडसँग खेल्नेछ । लिग चरणका सबै खेलहरुका प्रमुख तथा गेम चेञ्जर खेलाडीहरुको रुपमा कुशल भुर्तेल रहनेछन् । हालै सम्पन्न जय ट्रफीको च्याम्पियन नेपाल पुलिस क्लबलाई बनाउन कुशलले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसमा उनको एक अर्धशतक पनि सामेल थियो । अन्तर्राष्ट्रिय टी २० क्रिकेटमा उनले ५ वटा अर्धशतक सहित ५ सय रन पुरा गरेका छन् भने एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पनि एक हजार रन पुरा गरेका छन् । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएलमा) उनले पोखरा एभेञ्जरबाट मार्की खेलाडी हुँदै कप्तानको भुमिका निर्वाह गरेका थिए ।
गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताका सबै खेलका टिकटहरु खल्ती एपबाट काट्न सकिन्छ । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा दर्शकहरुलाई मैदानमा गएर खेल हेर्नका लागि भिआईपी तर्फ दुई सय र साधारण तर्फ एक सय रुपैया टिकट दर तोकिएको छ ।



