क्रिकेटको शहर भनेर चिनिने कैलालीको धनगढीमा यही माघ १९ गतेदेखि २८ गतेसम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै छ । उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानले गर्ने भएको छ ।

गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको प्रत्यक्ष प्रसारणको अधिकार एक्सन स्पोर्टस एचडी वानले पाएको हो । प्रतियोगिताका सबै खेलहरु एक्सन स्पोर्टस एचडी वान टेलिभिजनमा हेर्न पाइने भएको छ । नेपालको पहिलो खेल च्यानलका रुपमा रहेको एक्सन स्पोर्टसमार्फत देश तथा विदेशमा रहेका दर्शकहरुले प्रतियोगितालाई हेर्न पाउने आयोजकले जनाएको छ ।
यसअघि नै प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको थियो । प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा डिसिए धनगढी, फेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडी-११ र बोष्टन क्रिकेट झापा रहेका छन् । त्यसै गरी समूह ‘बी’ मा सिवाइसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौ र न्यू होराईजन बुटबल रहेका छन् ।
माघ १९ गते हुने उद्घाटन खेलमा डिसिए धनगढी र फेन्ड्स युवा क्लब डडेल्धुरा खेल्ने समय तालिका रहेको छ ।
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफी रनिङ ट्रफीको रुपमा टी-२० फर्म्याटमा हुने छ । प्रतियोगिताको विजेताले नगद १० लाखसहित ट्रफी र उपविजेताले नगद ५ लाख रुपैयाँ हात पार्ने छ ।



