
गत आर्थिक वर्ष २०८००८१ म कैलाली जिल्ला अदालतमा २२८ ओटा यौन अपराधका मुद्धा दर्ता भएका छन् ।


जबरजस्ती करणी, हाडनाता करणी, जबरजस्ती करणी उद्योग, बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन र अन्य गरेर २२८ ओटा मुद्दा जिल्ला अदालतमा एक वर्षमा दर्ता भएका अदालतको अभिलेखमा उल्लेख गरिएको छ । जिल्ला अदालतमा दर्ता भएका यौन अपराधका १७७ मुदा फच्र्छौट भएका छन् । अदालतले ५१ मुदा किनारा लगाउन सकेको छैन् । चालु आर्थिक वर्षमा बाँकी मुद्दाहरूको जिल्ला अदालतले फच्र्छौट गर्ने जनाएको छ ।
जिल्ला अदालतमा जबरजस्ती करणीका १६४ मुद्दा दर्ता भएकामा ११८ मुद्दा किनारा लागेका बताएको छ । जवरजस्ती करणीका ४६ मुदाको अन्तिम सुनुवाइ बाँकी रहेको छ । हाडनाता करणीका सात मुद्दा अदालतमा दर्ता भएकोमा चारको अन्तिम सुनुवाइ भएको छ । तीन मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी रहेको छ । जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगका ३८ मुद्दा एक वर्षमा दर्ता भएका थिए । ३७ मुद्दाको अन्तिम सुनुवाइ भएको छ भने, एकको बाँकी रहेको छ ।

कैलालीमा बाल यौन दुरुपयोगका १९ मुद्दा अदालतमा दर्ता भएका थिए । एक वर्षमा १८ मुद्दा फच्र्छाैट भएका छन् । कैलालीमा अप्राकृतिक मैथुनका मुद्दाहरु भने दर्ता भएका छैनन् । न्यायाधीश दण्डपाणि लामिछाने जबरजस्ती बल प्रयोग गरेर इच्छा विपरीत गरेको मात्रलाई जबरजस्ती नभनिएको बताए । उनले उमेर पुगेका महिलाहरूलाई पनि प्रलोभन देखाइएको, झुटा आस्वासन देखाइएको, लोभ–लालच, डर धम्की, जबरजस्ती, गरिएकोलाई कानुनले मन्जुरी मानेको छैन् । कानुनले १८ वर्ष मुनिकालाई नाबालक मानेको उनले बताए । उनले भने, ‘विवाहको लागि २० वर्ष योग्य हो । १६–१८ वर्षको उमेरमा स्कुल, कलेजहरूमा प्रेम गर्ने हुँदो रहेछ । प्रेम गर्ने कुरालाई हाम्रो समाजले पचाएको छैन् । खासमा घरपरिवार र आफन्तले राम्रो दृष्टिकोणले हेरेका छैनन् । यता तिर कानुनले त्यो कुरालाई रोकेको छ । मन्जुरीमा गरेपनि कानुनले रोकेको छ । त्यो कारणले पछि मुद्दाको रूपमा आउने गरेको छ ।’

कैलाली जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछाने युवा अवस्थाका प्रेम र प्रेमीकाहरूको मुद्दाहरू धेरै हेरेको बताए । उनका अनुसार प्रेम सम्बन्धको विषयमा घरपरिवारका सदस्यहरूलाई थाहा भए पनि मुद्दाको रूप लिने गरेको हो । सहमतिमा नै गरेको भएपनि मुद्दाको रुपमा आउने गरेको लामिछानेले बताए । ‘उमेर पुगेका महिलाहरूको मुद्दा कम मात्र छन् । तर, १८ वर्ष मुनीका मुद्दाहरु आउदैछन्,’ उनले भने ।

