चुरे : कैलाली जिल्ला सुदूरपश्चिम प्रदेशको एक सुगम जिल्ला हो । जहाँ सुदूरपश्चिमका ७ पहाडी जिल्लाबाट मानिसहरू सुविधाकै लागि बसाइ सरेर आउने गर्दछन् । उसो त कर्णाली प्रदेशबाट पनि यहाँ बसाइ सराइ गरेर आउने गर्दछन् । हर सेवा सुविधाले सम्पन्न जिल्लाको पहिचान बनाएको छ कैलालीले । तर, त्यही सुगम जिल्लाको सूचीमा रहेको कैलालीका कयौँ यस्ता दुर्गम स्थान छन् । जहाँ मान्छेले सुविधाको अनुभव नै गर्न पाएका छैनन् ।
कैलालीका चुरे र मोहन्याल गाउँपालिकाले विशेष गरी सुविधा अनुभव गर्न पाएका छै्नन् भन्दा फरक नपर्ला । अन्य कतिपय सुगम मानिने पालिका पनि दुर्गम जस्तै भए पनि चुरे र मोहन्याल यसको चपेटामा छन् । मदन बिक चुरे गाउँपालिका–४ तुडेपानीमा बासिन्दा हुन् । उनी सोही वडाकै जगातीको समैजी आधारभूत विद्यालयका शिक्षक हुन् । विद्यालयमा पढाउने उनको पेशा हो त्यसका अलाभा वर्षायाममा उनको अर्को जिम्मेवारी पनि थपिन्छ– जुन हो विद्यार्थीहरुलाई कालो खोलाको भेल तार्नु ।
वर्षायाममा विद्यार्थीहरू विद्यालय जाँदा र घर फर्किंदा उनैले खोला तारिदिन्छन् । पुल नभएकाले खोला तर्न शिक्षक विककै भर पर्ने गर्छन् त्यहाँका विद्यार्थीहरू । ‘खोलामा पुल नभएकाले बाढी आउँदा बालबालिकाहरु बाढी तर्न सक्दैनन्,’ विक भन्छन्, ‘गाउँमा सबै चिनजानकै हुन्छन् । त्यही भएर मैले नै खोला तारि दिएर सहयोग गर्ने गरेको छु ।’
तुडेपानी र बार्जुगडाका विद्यार्थीहरू समैजी स्कुलमा पढ्न आउँछन् । त्यहाँ ६ कक्षासम्म पढाइ हुन्छ । ६ कक्षाभन्दा माथि पढ्नु बालबालिकाले जिल्लाकै गोदावरी नगरपालिका-४ हाडखोलीको दुर्गा माध्यमिक विद्यालयमा जानुपर्छ । दुर्गा माविमा पढ्न जाँदा पनि कालो खोला नै तर्नुपर्ने बाध्यता रहेको छ । ठूलो बाढी आएको बेला खोला तर्न नसक्दा विद्यार्थीको पढाइ र परीक्षा नै छुट्ने गरेको छ । ‘अस्ति तीन दिनसम्म लगातार पानी परेर बाढी आउँदा म आफैं पनि स्कुल जान सकिनँ,’ शिक्षक मदन बिक भन्छन्, ‘म खोला तर्न नसकेपछि विद्यार्थीहरू पनि स्कुल गएनन् ।’
हिउँदमा खोलामा पानी कम भए पनि वर्षाको बेला भने सास्ती हुने गरेको शिक्षक बिक बताउँछन् । विद्यार्थीहरू निथ्रुक्कै भिजेका कपडासहित स्कुल पुग्छन् । खोला तारि दिनेको अवस्था पनि त्यस्तै हुन्छ । कहिले काहीँ अभिभावकहरूले स्कुल पु¥याउने बेला खोला तारिदिन्छन् । तर स्कुल छुट्टि हुने बेला उनीहरु काममा व्यस्त हुन्छन् । त्यसबेला पनि आफूले नै विद्यार्थीहरूलाई खोला तारिदिने गरेको शिक्षक बिक बताउँछन् । ‘भेल तर्न सक्ने अवस्थामा कसैलाई काँधमा, कसैलाई पिठ्युँमा बोक्छु र वारीबाट पारी पु¥याउँछु,’ विक भन्छन्, ‘तर्दातर्दै कतिबेला बाढी बढेर बगाउने हो कि भन्ने डर लागिरहन्छ ।’
समैजी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर बिक विद्यार्थीहरू कतिबेला खोलामा बग्ने हुन् भन्ने चिन्ता सधैं हुने गरेको बताउँछन् । लगातार झरी परेका दिन विद्यालयमा न त विद्यार्थी नै हुन्छन् न शिक्षक हुन्छन् ।
खोलामा पुल नहुँदा वर्षायाममा सबैभन्दा बढी स्कुले बालबालिका, वृद्धवृद्धा र बिरामीहरु प्रभावित हुने गरेका उनी बताउँछन् । ‘केटाकेटी घर आउने बेला भयो भने खोला तार्नुपर्छ भनेर सबै काम छाडेर खोलामा ड्युटी गर्न जानुपर्छ,’ तारा बहादुर भन्छन्, ‘काम विशेषले व्यस्त भइयो भने मदन सरले नै तारिदिनुहन्छ ।’
स्थानीयका अनुसार कालो खोला तर्न जोखिम छ । वर्षामा खोलामा बहाव बढेपछि स्कुल पठाउन सक्ने अवस्था नहुने अभिभावकहरु बताउँछन् । स्थानीय सन्तोषी विक भन्छिन्, ‘घरबाट खोला हेर्न आउँछौं, तर्न सकिने जस्तो देखिए छोराछोरी स्कुल पठाउँछौं, नसकिने जस्तो भए घर फर्काउँछौं ।’
जोखिम मोलेर तर्दा बाढीले मान्छे नै बगाउने गरेको स्थानीय बताउँछन् । एक हप्ता अगाडि नरबहादुर कामी घरबाट गोदावरी नगरपालिकाको मुरीभावर भन्ने ठाउँ जाँदै गर्दा कालो खोलाको बाढीमा बगेका थिए । करिब २०–३० मिटरसम्म बगेका उनलाई स्थानीयले उद्धार गरे । उनको कुमनेरबाट हातको जोर्नी फुस्कियो । हाल घरमै घरेलु उपचार गरेर आराम गरिरहेका उनी भन्छन्, ‘वर्षा र बाढीले गर्दा राम्रो अस्पतालसम्म पुग्न नसकेर उपचार गर्न पाइएन ।’
गत वर्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर बिक पनि कालो खोलाको बाढीमा फसेका थिए । स्थानीयले ११ घण्टापछि उनको उद्धार गरेका थिए । ‘पोहोर साल म आफैं कालो खोलामा फसें,’ ताराबहादुर भन्छन्, ‘एघार घण्टासम्म भोकैप्यासै बस्नुपर्यो, बाढी अलि घटेपछि गाउँलेहरुले डोरीको सहायताले उद्धार गरे ।’
उनका अनुसार सो क्षेत्रमा दलित समुदायको बसोबास बढी छ । किनमेल गर्न अत्तरिया बजार पुग्नुपर्छ । त्यहाँ जाँदा पनि कालो खोला नै तर्नुपर्ने बाध्यता छ । कालो खोला नतरेर अलि घुमारो बाटो प्रयोग गर्ने हो भने पनि भराणे खोला तर्नुपर्छ । भराणे ठाडो खोला हो । वर्षाको बेला त्यो पनि तर्न सकिँदैन । त्यसैले स्थानीयबासी वर्षाको बेला सडक सम्पर्कबाट बिच्छेद हुने गरेका छन् ।
गाउँमा बिजुली पनि पुगेको छैन । पोल गाडेको तीन वर्ष बितिसकेको छ तर तार टाँगिएको छैन । ‘कैलाली सुगम जिल्ला भए पनि हाम्रो गाउँमा पुल छैन, बिजुली छैन, बाटो पनि गतिलो छैन,’ स्थानीय ताराबहादुर बिक भन्छन्, ‘यहाँ बस्ती बसेको २२ वर्ष भयो तर हाम्रो समस्यामा कसैले चासो दिएनन् ।’ पुल माग गर्दै गाउँपालिकादेखि प्रदेश मन्त्रालयसम्म पुगे पनि मागको सुनुवाइ नभएको उनी बताउँछन् ।