
सुखड : कैलालीमा दुईजना व्यक्ति मृत भेटिएका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ र घोडाघोडी नगरपालिका–१ मा शुक्रबार दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले टीकापुर नगरपालिका–१ विशालनगर बस्ने ६३ वर्षीय डम्बर टमटा मृत भेटिएको बताए । बाटोमा एक्कासी ढलेर बेहोस भएका टमटाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
यस्तै, बुधबारदेखि बेपत्ता घोडाघोडी नगरपालिका–१ बेलारका ६० वर्षीय मानबहादुर धामी मृत भेटिएका छन् ।

डीएसपी बोहोराका अनुसार धामी घोडाघोडीकै सितानगरको डोडा नदीको बीच भागमा अड्किएको अवस्थामा मृत भेटिएका हुन् ।

उनी बुधबार साँझ आफन्तको घर जान्छु भनी हिंडेका थिए । धामी सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि भोलिपल्ट इलाका प्रहरी कार्यालय सुखडमा निवेदन दिएका थिए ।

खोजतलास गर्ने क्रममा उनी नदीको बीच भागमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

