भारतले १७ वर्षपछि दोस्रो पटक आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटको उपाधि चुमेको छ । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा भएको आईसीसी टी-२० को उपाधि भिडन्तमा दक्षिण अफ्रिकालाई ७ रनले पाखा लगादै भारतले उपाधि जितेको हो ।

यसअघि भारतले सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आईसीसी टी-२० को उपाधि भिडन्तमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।
गएराती वेस्ट इन्डिजकाे बार्बाडोसस्थित किङ्सटाउन मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले विराट कोहलीकाे अर्धशतकीय पारीमा १ सय ७६ रनकाे विशाल आँकडा तयार पारेको थियो । १ सय ७७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन मात्रै बनाउन बनाउँदा भारतले उपाधि चुमेको हो ।
दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रनकाे अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । त्यस्तै ओपनर तथा विकेट किपर क्वान्टन डी ककले ३९, ट्रिस्टान स्ट्रब्सले ३१, डेविड मिलरले २१, एइडेन मक्रम, रेजा हेन्ड्रिक र कासिगो रबाडाले ४-४ रन बनाए । केशव महाराजा २ रनमा आउट हुँदा एनरिच नोर्त्जे १ रनमा अविजित रहे ।
बलितर्फ भारतका हार्दिक पान्ड्याले तीन, अर्शदीप सिंह र जसप्रित बुमराहले दुई/दुई तथा अक्षर पटेलले एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ रन ७६ रनकाे विशाल आँकडा बनाएको थियो । भारतको लागि विराट कोहलीले ७६ रन जोडे । ५९ बलको सामना गरेका कोहलीले २ छक्का र ६ चौका प्रहार गर्दै आउट भएका थिए ।

त्यस्तै अक्षर पटेल ४७, शिवम डुबे २७, रोहित शर्मा ९, रवीन्द्र जडेजा २ र ऋषभ पन्त शून्य रनमा आउट हुँदा हार्दिक पान्ड्या ५ रनमा अविजित रहे ।

बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजा र एनरिच नोर्त्जेले २/२ तथा मार्को जान्सेन र काजिसो रबाडाले एक/एक विकेट लिए । चार ओभर बलिङ गरेका जान्सेनले सर्वाधिक ४९ रन खर्चंदा चारै ओभर बलिङ गरेका रबाडाले ३६ र नोर्त्जेले २६ रन दिए ।
त्यस्तै तीन ओभर बलिङ गरेका तब्रेज शम्सीले २६ र एडन मारक्रमले दुई ओभर बलिङ गरेर १६ रन खर्चंदा कुनै विकेट हात पार्न सकेनन् ।
याे विश्वकपमा उपविजेतामै सीमित बनेको दक्षिण अफ्रिकाकाे पहिलो पटक विश्वकपकाे उपाधि हात पार्ने सपना पनि सपनामै सीमित रहेको छ । दक्षिण अफ्रिका पहिलो पटक टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको थियो तर उपाधि उचाल्न भने वञ्चित रह्यो ।

