कैलालीको बर्दगोरिया गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा अब्बल रूपमा फड्को मार्दै गएपछि स्थानीयहरूको स्वास्थ्यमा पहुँच बढेको छ । १५ शय्या अस्पताल निर्माणमा देशकै पहिलो बनेर चर्चामा रहेको गाउँपालिकाले आँखा उपचार केन्द्र मार्फत आँखाका बिरामीहरूका लागि समेत सेवा दिन थालेको छ ।
“हामीले अस्पतालमा एमबिबिएस सेवा सुरु गरेका छौ । अब थप व्यवस्थापनका साथ विशेषज्ञ सेवा सुरु गर्ने योजनामा हामी छौ । अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पनि लागू भएको छ । यसले गर्दा सहज रूपमा घर आँगनमा जनताले सेवा पाएका छन् ।” पालिका अध्यक्ष कर्णबहादुर कुँवरले भने ।
सञ्चालनको छोटो समयमै अस्पतालमा बिरामीको चाप निकै बढेको छ । हाल छिमेकी पालिका सँगै छिमेकी जिल्लाबाट समेत सेवा लिन आउने गरेका छन् ।
यसैबिच अस्पताल मार्फत गाउँपालिकाले आँखा उपचार केन्द्र समेत सुचारु गरेको छ । सबै खाले बिरामीहरूलाई घरदैलोमा सहज सेवा प्रवाह गर्ने गाउँ सरकारको लक्ष्य रहेको पालिकाका उपाध्यक्ष गणेशराज गिरीले बताए । “अस्पताल मार्फत अन्य खालका बिरामीहरूले सेवा लिइरहनु भएको छ । बेलाबेला हामीले आयोजना गरेका आँखा शिविरहरूमा बिरामीहरू बढी देखिन थाले । कतिले त टाढा र खर्चिलो भएका कारण उपचार नै पाउन नसकेको पनि देखियो । त्यसैले हामीले आँखा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक ठान्यौ ।” उपाध्यक्ष गिरीले भने ।
आँखा उपचार केन्द्र मार्फत आँखा चेकजाँच सँगै औषधी र चस्मा समेत उपलब्ध गराइँदै आएको छ । घर दैलोमै सबै खाले स्वास्थ्य सेवा पाउन थालेपछि स्थानीयहरू समेत खुसी भएका छन् ।
प्रकाशित :- २०८१ असार ६, गते बिहीबार