सुखड: भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति सम्पन्न भएको खेलमा लखनऊ सुपर जायन्ट्सले चेन्नाई सुपर किंग्समाथि सानदार जित हात पारेको छ । लखनउले चेन्नाईमाथि ८ विकेटकाे फराकिलो जित निकालेको हो ।
चेन्नाईले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको लखनउले १९ ओभरमा मात्रै २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । लखनउका लागि ओपनर द्वय कप्तान केएल राहुल
र क्विन्टन डि ककले अर्धशतकीय पारी खेले । राहुलले ८२ रनको पारी खेल्दा डि ककले ५४ रन बनाए। त्यस्तै
निकोलस पूरन २३ र मार्कस स्टोइनिस ८ रनमा अविजित रहे।
बलिङमा चेन्नाईका मुस्ताफिजुर रहमान र माथिहा पाथिरानाले १/१ विकेट लिए।
त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नाईले १ सय ७६ रनको चुनौतीपूर्ण लक्ष्य खडा गर्यो । उसका लागि लागि रविन्द्र जडेजाले अविजित ५७ रनकाे अर्धशतकीय पारी खेले । यस्तै महेन्द्रसिंह धोनीले २८, अजिंक्य रहाणे ३६, मोइन अली ३० र कप्तान ऋतुराज गायकवाड १६ रन बनाए ।
लखनऊका कृणाल पाण्ड्याले २ विकेट लिँदा मोहसिन खान, यश ठाकुर, रवि बिश्वोई र मार्कस स्टोइनिसको नाममा १/१ विकेट रह्यो।
यस्तै आज सनराईजर्स हैदराबाद र दिल्ली क्यापिटल भिड्ने भएका छन् । हैदराबाद जारी सिजनमा निकै लयमा रहेको छ । उसले खेलका ६ खेलमा चार जित निकाल्दै तालिकाको चौथो स्थानमा रहेको छ । त्यस्तै दिल्ली आफूले खेलेको ७ मध्ये ३ मा मात्रै जित हात पारेको छ । उ छैटौं स्थानमा रहेको छ ।