
धनगढी : यूवालाई स्वारोजगार बनाउने उदेश्यले कैलालीमा सञ्चालित व्यवसायिक तालिम केन्द्र (भोकेस्नल स्कुल) को आफ्नै भवन बन्ने भएको छ । धनगढी उप–महानगरपालिका र नेपाल युथ फाउन्डेसनको सहकार्यमा सञ्चालित तालिम केन्द्रको धनगढी-१८ फूलबारीमा बन्ने भवनको सोमबार शिलान्यास गरिएको छ ।

पहिलो चरणमा एक प्रशासनिक भवन, दुईवटा तालिम व्लक, तीन वटा सानो भवन तथा घेरवार सहितको संरचना निर्माण हुनेछ । तालिम केन्द्र सञ्चालनको पाँच वर्ष पछि भने भवन व्यवस्थापन र संरक्षणको जिम्मेवारी उप–महानगरपालिकाको हुनेछ ।
शिलान्यास कार्यक्रममा धनगढी उप–महानगरपालिकाका प्रमुख गोपाल हमाल, प्राध्यापक डाक्टर हेमराज पन्त, युथ फाउन्डेसनका तर्फबाट सोम पनेरू, हाजेल ग्रेस लगायतको सहभागिता रहेको थियो ।
उप–महानगरपालिकाको सहकार्यमा तालिम केन्द्रले ५५० घण्टे वेल्डर र ३९० घण्टे पलम्बर, ईलेक्ट्रिसियन तथा फर्निचर मेकर तालिम प्रदान गर्दै आएको छ । निकट भविष्यमै फूलबारीको आवासीय भवनबाट युवाहरूलाई सीपमूलक तालिम दिने लक्ष्यमा तालिम केन्द्र छ । सुदूरपश्चिमका यूवाहरुका लागि तालिम केन्द्र महत्वपूर्ण सीप केन्द्र बन्ने अपेक्षा राखिएको छ ।
