इलाका प्रहरी कार्यालय सुखडले सोमबार दिउँसो ८ सय ५५ लिटर घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने २ सय लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ ।घोडाघोडी नगरपालिका भित्रका हाइवे क्षेत्रका विभिन्न बजारमा इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी दीपेन्द्र कुमार पालको कमाण्डमा प्रहरीले उक्त परिमाणको मदिरा नष्ट गरेको हो ।
घोडाघोडी नगरपालिकाको पहलमानपुर, सुखड लगायतका बजारमा सञ्चालनमा रहेका होटलहरुमा लुकाई छिपाइ राखिएको मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी दीपेन्द्र कुमार पालले जानकारी दिए ।
बरामद गरिएको मदिरा जनप्रतिनिधि समाजसेवी र पत्रकारको रोहवरमा नष्ट गरिएको हो। बढ्दो घरेलु हिंसा र समाजमा हुने गरेका विभिन्न आपराधिक गतिविधिको रोकथामका लागि प्रहरीले मदिराको अवैध निर्यात रोक्न नियमित जाँच गर्ने डिएसपी पालले बताए ।
समाजलाई सभ्य र सुरक्षित राख्न आग्रह गर्दै पालले प्रतिबन्धित मदिरा तथा लागूपदार्थ बिक्री वितरण नगर्न सबैमा आग्रह समेत गरेका छन् ।
इलाका प्रहरी कार्यालय सुखडमा डिएसपी पाल हाजिर भएपछि यसअघि पनि ४६० लिटर मदिरा बरामद गरी नष्ट गरेको थियो।