
कैलालीको बर्दगोरिया गाउँपालिकाले यति बेला पानी पिचलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको छ । गाउँवासीलाई सहज आवागमनका लागी आफ्नै साधन खरिद गरी गत आर्थिक वर्ष २०७९/०८० देखी नै पानी पिच सुरु गरेको गाउँ सरकारले यस वर्ष पनि वडा नम्बर ६ बाट काम अघि बढाएको हो ।
यसका लागी गत वर्ष नै जेसिवी, रोलर र टिपर खरिद गरेको गाउँपालिकाले यस वर्ष आफ्नै ग्रेडर समेत खरिद गरेको छ । पानी पिच अन्तर्गत यती बेला वडा नम्बर ६ को जोकाही–पृथ्वीपुर सडक सुधारको काम जारी छ । पालिकाले गत वर्ष अन्तर पालिका जोड्ने करिब २५ किलोमिटर सडक पानी पिच गरेको थियो । पालिका भित्रका बढी चल्ने करिब एक सय किलोमिटर सडक सुधार गर्नु पर्ने अनुमान गरिएको छ । उक्त सडकहरू यही आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य गाउँ सरकारको छ ।
गाउँ सरकारको सडक सुधार अभियानले खुसी बनेका स्थानीयहरू प्रदेश र सङ्घीय सरकारले समेत अभियानलाई साथ दिनु पर्ने बत्ताउँछन् । “गाउँपालिकाले आफ्नो बजेटबाट पानी पिच गर्दै छ । यो भनेको कालोपत्रेको बेस निर्माण पनि हो । गाउँपालिकाले निर्माण गरेको बेसमा प्रदेश र सङ्घीय सरकारले कालोपत्रेको पहल गर्न सकेको भए १/२ वर्षमै पालिकाका सबै सडकहरू कालोपत्रे हुने थिए ।” स्थानीय ध्वजबहादुर सुनारले भने ।
विगतमा अस्तव्यस्त सडकको दुर्दशाले आजित बनेका स्थानीयहरू सडक पानी पिच हुन थालेपछि सहजताको आभास गर्न थालेका छन् । पानी पिच सँगै आवश्यक ठाउँमा सडक चौडा गर्ने कार्यले अत्यावश्यक पर्ने दमकल, एम्बुलेन्स, प्रहरी लगायतलाई तीव्र सेवा प्रवाहमा समेत सहज भएको छ ।


प्रकाशित :- २०८० पुष २२, गते आईतवार