
कैलालीको कुल प्रसाद भट्ट प्रथम ‘सार्क एजुकेसन अवार्ड २०२३’ बाट सम्मानित भएका छन् । ग्रामीण क्षेत्रमा रहे पनि शैक्षिक गतिविधिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई ‘सार्क एजुकेसन अवार्ड २०२३’ प्रदान गरिएको हो ।

सार्क जर्नालिष्ट फोरम’ र ‘रोटरी क्लब अफ दार्जिलिङ’को सहकार्यमा शनिवार भारतको पश्चिम बङ्गाल स्थित सेन्ट जोसेफ स्कुल नर्थ प्वाइन्टमा आयोजित ‘सार्क एजुकेसन अवार्ड २०२३’ बाट नेपाल, भारत र भुटानका शिक्षा सेवी र शैक्षिक संस्था सम्मानित भएका हुन ।
दक्षिण एसियाली राष्ट्रमा सामुदायिक र संस्थागत विद्यालयहरूमा रही शैक्षिक क्षेत्रमा खेलेको महत्त्वपूर्ण भूमिकाको कदर गर्दै योगदान, नवप्रवर्तन, उत्कृष्टता, समर्पण र सृजनात्मकता विधामा अवार्ड वितरण गरिएको हो ।
नेपालबाट सम्मानित हुनेमा कैलालीको पायोनियर स्कलर्स एकेडेमीका प्रिन्सिपल कुल प्रसाद भट्ट, हिमालय कलेजका प्रिन्सिपल रामहरि सिलवाल, जेम्स स्कुलका प्रिन्सिपल अनिलचन्द्र राई, सेन्ट जेभियर्स स्कुलका प्रिन्सिपल फादर स्यामुअल सिमिक, प्रेरणा विद्या सदनका प्रिन्सिपल हीरा महर्जन, विद्यालयमा पठन संस्कृतिका अभियन्ता शरदबाबु श्रेष्ठ, प्याब्सनका उपाध्यक्ष सङ्गीता सिलवाल, ऐसेलु भूमे माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराम न्यौपाने रहेका छन् ।
त्यस्तै, भारतबाट सेन्ट पल स्कुलका पिटर लेप्चा, इटन गार्डेन स्कुल, द टेलिग्राफ पत्रिकाका सह–सम्पादक विवेक क्षेत्री र सेन्ट जोसेफ स्कुल भुटानबाट लोसेल ग्याष्ट्रो एकेडेमीका प्रिन्सिपल छिरिङ डिमा रहेका छन् ।
