सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री शाहको विश्वासको मतका लागि आज साँझ ५ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिव देवबहादुर बोगटीले जानकारी दिए।
असार १९ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसयता मुख्यमन्त्री शाहमाथि विश्वासको मत लिनुपर्ने दबाव बढेको हो।
५३ सदस्यीय प्रदेश सभामा हाल ५२ जना सांसद छन्। नेकपा (एस) का नेता दीर्घबहादुर सोडारी निलम्बनमा रहेकाले मताधिकार प्रयोग गर्न पाउँदैनन्। बाँकी ५१ सांसदमध्ये विश्वासको मत पाउन कम्तीमा २७ मत आवश्यक पर्छ।
हाल सत्ता गठबन्धनमा नेपाली काँग्रेसका १८ र नेकपा एमालेका ११ गरी २९ सांसद छन्। यी दुई दलले आफ्ना सांसदहरूलाई शाहको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन्।
मुख्यमन्त्री शाहले भने, “हाम्रो गठबन्धनसँग स्पष्ट बहुमत छ, त्यसैले म विश्वासको मत पाउनेमा विश्वस्त छु। अन्य दलहरूसँग पनि सहकार्यको प्रयास जारी छ।”
तर, नाउपाका सांसदहरूको समर्थन अहिलेसम्म निश्चित भइसकेको छैन। नाउपाका संरक्षक रेशम चौधरी भन्छन्, “हाम्रा मन्त्रीलाई कारणबिना बर्खास्त गरिएको छ। पुर्नबहाली नगरे विश्वासको मत नहाल्ने निर्णयतर्फ छलफल भइरहेको छ।”
नाउपाका ७ सांसदमध्ये लक्ष्मणकिशोर चौधरी उपचारका लागि काठमाडौंमा छन्। बाँकी ६ मध्ये ३ जनाले समर्थन दिने र ३ जनाले नदिने अडान लिएको बुझिएको छ।
मुख्यमन्त्री शाहले चाहिने संख्या पाउने निश्चित देखिए पनि, नागरिक उन्मुक्ति पार्टीको समर्थनले राजनीतिक सन्तुलनमा थप बल पुग्ने देखिन्छ।
यसैबीच, प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र, समाजवादी पार्टी, राप्रपा तथा स्वतन्त्र सांसद डा. तारा प्रसाद जोशीले विपक्षमा मतदान गर्ने तयारी गरेका छन्।


