विभागीय टोली नेपाल पुलिस क्लबले लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई पराजित गर्दै पहिलो संस्करणको जय ट्रफी मेन्स एलिट कपको फाइनलमा स्थान बनाएको छ ।

एलिट कपको फाइनलमा स्थान बनाउने पुलिस दोस्रो टोली बनेको छ । यसअघि मधेश प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाइनलमा स्थान पक्का गरिसकेको थियो । आइतवार सकिएको लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध ५ विकेटको जित हासिल गर्यो ।
बागमतीले दिएको १ सय १६ रनको लक्ष्य पुलिसले ५ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा शंकर रानाले सर्वाधिक ५६ रन जोडे । उनले ४५ बलमा ९ चौका प्रहार गरे । कप्तान कुशल भुर्तेल ३२ रनमा आउट हुँदा अर्जुन साउद २० रनमा अविजित रहे ।
बागमतीका लागि कप्तान सन्दीप लामिछानेले २ तथा नन्दन यादव, प्रतिस जिशी र सुर्य तामाङले समान १ विकेट लिए ।
पहिलो इनिङ्समा १ सय ३ रनको पछि परेको बागमतीले दोस्रो इनिङमा २ सय १८ रन जोडेको थियो ।
दोस्रो इनिङमा बागमतीले १ सय १५ रनको अग्रता लिएको थियो । बागमतीका लागि शुभ कसांकारले सर्वाधिक ७० रन जोडे । उनले ७४ बलमा १२ चौका र १ छक्का प्रहार गरे । इशान पाण्डे ५२, कप्तान सन्दीप लामिछाने र सुर्य तामाङ समान १६ तथा उत्तम थापा मगर १४ रनमा आउट भए ।

पुलिसका लागि ललितनारायण राजवंशीले ३, श्रवण यादवले २ तथा प्रेम तामाङ, कुशल भुर्तेल, राशिद खाना र गुलशन झाले समान १ विकेट लिए ।

त्यसअघि जनकपुरमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको बागमती ३३ ओभर २ बलमा १ सय १२ रनमा सबै विकेट गुमाउँदै समेटिन पुग्यो ।
बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ७१ रन जोडे । उनले ९४ बलमा १० चौका प्रहार गरे । पाण्डे ब्याटमा लागेर विकेट तर्फ जादै गरेको बल रोक्ने प्रयास गर्दा आउट भए । प्रतिक श्रेष्ठले १२ रन जोड्नु बाहेक बागमतीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
पुलिसका लागि श्रवण यादवले ह्याट्रिक सहित ३ विकेट लिए ।
श्रवणले लिएको ह्याट्रिक प्रतियोगिताकै पहिलो हुन पुग्यो । उनले २७ औं ओभरमा प्रतिक श्रेष्ठ, सुर्य तामाङ र सन्दीप लामिछानेलाई आउट गराएका थिए । ललितनारायण राजवंशीले ३ तथा कुशल भुर्तेलले २ विकेट लिए ।
पुलिसले पहिलो इनिङ्समा ४५ ओभर ५ बलमा २ सय १५ रन जोडेको थियो । पुलिसका लागि अमितले सर्वाधिक ७९ रन जोडे । उनले ९७ बलमा १० चौका र २ छक्का प्रहार गरे । अमितले चौथो विकेटका लागि अर्जुनसँग मिलेर १ सय ४८ रनको शतकीय साझेदारी गरे ।
अर्जुनले ८२ बलमा ८ चौका र २ छक्काको सहयोगमा ७७ रन बनाए । गुलशन झाले १७ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बागमतीका लागि कप्तान सन्दीप लामिछानेले ४, नन्दन यादव र प्रतिस जिसीले समान २ तथा रिजन ढकालले १ विकेट लिए ।
२ मा जित र १ मा बराबरी सहित पुलिस ६६ अङ्कका साथ शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाएको छ । भने, २ मा बराबरी र १ मा जितका साथ ५५ अङ्क जोडेको आर्मी दोस्रो स्थानमा रहेर फाइनलका लागि छनोट भएको छ ।
प्रतियोगिताको फाइनल खेल आगामी मङ्गलबार देखि हुनेछ । फाइनल खेल भने तीन दिवसीय हुनेछ ।

