काठमाण्डौ : आज असार २९ अर्थात् भानुजयन्ती, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन । नेपाल तथा नेपाली भाषी रहेका विश्वका विभिन्न देशमा विविध कार्यक्रम गरी शनिबार २११औँ भानुजयन्ती मनाइँँदै छ ।
आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको थियो । धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए । भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए ।
भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए । रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा र रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपाली भाषीमाझ लोकप्रिय छन् । उनको निधन १९२५ मा भएको थियो ।
भानुजयन्तीको अवसरमा काठमाण्डौस्थित नेपाल प्रज्ञा प्रतिष्ठानलगायत स्वदेश र विदेशमा रहेका विभिन्न संघसंस्थाले कार्यक्रम गर्दैछन् । विद्यालय तथा विश्वविद्यालयमा पनि भानुभक्तका रचना पाठ गरिँदैछ । विभिन्न संस्थाले भानुको रचनावाचन प्रतियोगिता नै चलाएका छन् । नेपाललगायत भारतमा नेपालीभाषीको बहुलता रहेका क्षेत्रमा भानुजयन्ती विशेष कार्यक्रम गरी मनाइन्छ ।


