धनगढीः सुदूरपश्चिममा ३९ महिला र १७ पुरुष गरि ५६ जनालाई सर्पले डसेको छ । तीमध्ये ५ पुरुष र २ महिला गरी ७ जनाको अकालमै मृत्यु भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि असार दोस्रो सातासम्म सर्पदंशका ५४ घटना घटेको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र (पीइओसी) ले संकलन गरेको विवरणमा उल्लेख गरिएको छ । सर्पदंशकै कारण सो अवधिसम्म ८१ परिवार प्रभावित बन्न पुगेका छन् ।
सर्पले डसेर यही असार ११ गते साँझ कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरका राम पाण्डेयले अकालमै ज्यान गुमाउनु परेको छ । उता दार्चुलामा जेठ १९ गते एक किशोरीको पनि सर्पले डसेर मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका–४ ओडी गाउँकी १६ बर्षीया सुनिता गिरीको सर्पले डसेर मृत्यु भएको हो ।
पहाडी जिल्लाभन्दा तराईका जिल्ला कैलाली र कञ्चनपुरमा सर्पको बिगबिग बढेको छ । कैलालीको धनगढी उपमहानगरपालिकाले भने कुनै पनि नगरवासीको घरभित्र सर्प पसेको खवर प्राप्त गर्ना साथ नगर प्रहरीलाई खटाएर सर्प समात्ने काम हुँदै आएको छ ।
बैशाखयता मात्र नगर प्रहरीले एक दर्जन बढीको घर तथा गोठभित्र पसेको सर्पलाई समातेर सम्भावित दुर्घटनाबाट जोगाउने काम गरेको छ । धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरीले गोदावरी नगर क्षेत्रको एक घर एक फर्निचर उद्योगबाट पनि सर्प समातेर छिमेकी नगरवासीलाई सघाउने प्रयास समेत गरेको जनाईएको छ ।


