गएराती वेस्ट इन्डिजमा आईसीसी टी–२० विश्वकप क्रिेकेट २०२४ को उपाधिको छिनोफानो भयो । जसमा दक्षिण अफ्रिकालाई ७ रनले पाखा लगाउँदै भारतले उपाधि चुम्यो । उपाधि चुमेपछि खेलाडिमा खुसीको सिमा थिएन् ।
तर, त्यसको केही समय नवित्दै भारतीय टोलीका पूर्व कप्तान विराट कोहली र वर्तमान कप्तान रोहित शर्माले टी २० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरे । विश्वकपको उपाधि जितेसँगै दुबैले सुखद बहिर्गमन गरेका हुन् ।
रोमाञ्चक बनेको उपाधि भिडन्तमा भारतले ७ रनको जित हात पारेको थियो । खेलमा कोहली म्यान अफ द म्याच घोषित भएका थिए । उनले ५९ बलमा ७६ रन बनाएका थिए ।
पोस्ट म्याच प्रिजेन्टेसनमा कोहलीले यो म्याच आफ्नो अन्तिम भएको घोषणा गरे । उपाधिका साथ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिन पाएकोमा उनले सन्तोष व्यक्त गरेका थिए । कोहलीका अनुसार फाइनल हारेको भए पनि यही नै उनको अन्तिम खेल हुने थियो । तर, अपसोच भारतले उपाधि हात पार्दा उनले टोलीबाट सुखद अन्त्य गरे ।
कोहली भारतबाट टी–२० मा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् ।
कोहली लगत्तै रोहितले पनि सन्यास घोषणा गरेका छन् । उनी टी–२० मा सर्वाधिक रन र सर्वाधिक शतक बनाउने खेलाडी हुन् । सन् २००७ देखि अहिलेसम्म भएका सबै टी २० विश्वकपमा उनले भारतका तर्फबाट सहभागिता जनाएका थिए ।
दुवै खेलाडी भारतीय टोलीका निकै महत्वपूर्ण मानिएका थिए । दुवैका नाममा अनेकन कीर्तिमान समेत कायम छन् ।


