कैलालीको घोडाघोडी नगरपालिकाकी उपमेयर गुलिया कुमारी चौधरी र कर्मचारीले नियम विपरीत अनुगमन भत्ता बुझेका छन् । अर्थ मन्त्रालय कार्यसंचालन निर्देशिका २०७७ को विपरीत नगरपालिकाकी उपमेयर गुलिया कुमारी चौधरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्य, नगरपालिकाका इन्जिनियर, सब.इन्जिनियर, सब. ओभरसियर लगायत कर्मचारीहरूले नियम विपरीत भत्ता बुझेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अर्थ मन्त्रालयको कार्यसंचालन निर्देशिका २०७७ मा अनुगमन भ्रमण टोली खटाउनु परेमा कामसँग प्रत्यक्ष सम्बन्धित कर्मचारी खटाउनु पर्ने र त्यसरी कर्मचारी खटाउँदा बढीमा ३ जनाको टोली खटाउनु पर्ने व्यवस्था रहेको छ । तर नगरपालिकाले एक पटकमा ९ जनासम्म विषय विज्ञ नभएका कर्मचारी र पालिकाबाट सवारी साधन र इन्धन सुविधा प्राप्त गरेका तथा पदाधिकारीहरूलाई समेत अनुगमन भत्ता भुक्तानी गरेको पाइएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यसरी मनलाग्दी बाडीएको १ लाख ९ हजार ३ सय ९५ भत्ता सम्बन्धित व्यक्तिहरू बाट असुल गर्न महालेखाले निर्देशन गरेको छ ।
प्रकाशित :- २०८१ असार ३, सोमबार १९:५६


