नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकामा एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर मार्फत सेवा प्रदान गरिएको छ । विश्व हिन्दु परिषद् धनगढीको आयोजना तथा बर्दगोरिया गाउँपालिकाको सहकार्यमा शनिवार सञ्चालन भएको शिविरबाट साढे ४ सय बढी स्थानीय लाभान्वित भएका छन् ।
शिविरबाट १ सय ३० जनाले एक्स-रे सेवा लिएका छन् । ४१ जनाले ई सिजी सेवा, ४२ जनाले प्रयोगशाला सेवा र १ जनाले प्लास्टर सेवा लिएका छन् भने १ जनाको सामान्य शल्यक्रिया गरिएको छ । यस्तै शिविरबाट २ सय २९ जनाले सामान्य चेकजाँच तथा औषधी उपचार सेवा लिएका छन् । घरदैलोमै विशेषज्ञ सेवा पाएका स्थानीयहरूले खुसी व्यक्त गरेका छन् । विगतको तुलनामा आफूहरूले सहज रूपमा स्वास्थ्य सेवा पाएको भन्दै दोदोधरा अस्पतालबाट नियमित रूपमा विशेषज्ञ सेवा सञ्चालनको खाँचो रहेको बताए ।
अस्पताल मार्फत छोटो समयमा सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरिरहेको बर्दगोरिया गाउँपालिकाले हाल एमबिबिएस सेवा दिइरहेको छ । अस्पताल मार्फत यस क्षेत्रमा विशेषज्ञ सेवा समेत सञ्चालन गर्ने तयारी समेत गरिरहेको छ । नियमित विशेषज्ञ सेवा सञ्चालन नभए सम्म आफै वा विभिन्न दातृ निकायहरूको सहकार्यमा मासिक वा पाक्षिक रूपमा यो सेवा सञ्चालन गर्ने मनस्थितिमा आफू रहेको गाउँपालिकाले जनाएको छ ।


