कैलाली । केन्द्रमा सत्ता समीकरणको लागि अर्को गठबन्धन बने लगत्तै आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश मन्त्री हेरफेर गरेका छन् । जसमा शाहले नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ ।
सोमबार केन्द्रमा कांग्रेस-माओवादीकाे गठबन्धन भङ्ग भएर एमालेसहितकाे नयाँ गठबन्धन बनेपछि आज सुदूरमा मुख्यमन्त्री शाहले माओवादीबाट मन्त्री बनेका उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माललाई बर्खास्त गरेका छन् ।
मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गर्दा नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेकालाई भने चलाएका छैनन् ।
सुदूरपश्चिममा नाउपा र नेकपा(एस) काे समर्थन कायम भए मुख्यमन्त्रीलाई सुविधाजनक बहुमुत पुग्ने छ । साेही कारण मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरी उनीहरुलाई यथावत राखेका हुन । मुख्यमन्त्री शाहले पत्रकार सम्मेलन गर्दै माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरिएकाे बारेमा जानकारी दिएका हुन ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।


