कैलालीको लम्कीचुहा अस्पतालको स्वामित्व र व्यवस्थापनलाई लिएर प्रदेश र स्थानीय तहबीचको विवाद मंगलबार झनै चर्किएको छ। नगर प्रमुख सुशीला शाहीको कडा चेतावनीपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह निर्धारित बोर्ड अनावरण कार्यक्रमबाट पछि हटेका छन्।
लामो समयदेखि विवादमा रहेको उक्त अस्पताललाई स्थानीय सरकारसँग समन्वय नगरी प्रदेश मातहतमा लैजाने विषयले तनाव सिर्जना गर्दै आएको थियो। यहीबीच मंगलबार बिहान ११ बजे मुख्यमन्त्री शाह सामाजिक विकास मन्त्री मेघराज खड्का लगायतको उपस्थितिमा अस्पतालमा बोर्ड अनावरण गर्ने कार्यक्रम तय गरिएको थियो। 
तर, नगर प्रमुख शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत कडा चेतावनी दिँदै “कुनै पनि हालतमा बोर्ड अनावरण गर्न नदिने” र “जबरजस्ती गरे जस्तोसुकै परिस्थिति पनि सामना गर्न तयार” रहेको घोषणा गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो।
सोही चेतावनीपछि लम्कीचुहा अस्पताल परिसर वरिपरि नगरपालिकाले टिप्पर, दमकल लगायतका सवारी साधन राखेर घेराबन्दी गरेको छ। नगर प्रमुख शाही स्वयं पनि अस्पताल परिसरमा उपस्थित भई प्रत्यक्ष निगरानीमा रहेकी छन्। 
विवाद उत्कर्षमा पुगेपछि मुख्यमन्त्री शाह अन्ततः कार्यक्रममा सहभागी नहुने निर्णयमा पुगेका हुन्। मुख्यमन्त्री सचिवालय स्रोतका अनुसार स्थलको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको हो।
नगर प्रमुख शाहीले प्रदेश सरकार जबरजस्ती अघि बढे त्यसको प्रतिकार गर्ने चेतावनी दोहोर्याउँदै त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले लिनुपर्ने बताएकी छन्।
यस घटनाले प्रदेश र स्थानीय सरकारबीचको समन्वय अभावलाई पुनः उजागर गरेको छ भने लम्कीचुहा अस्पतालको भविष्यबारे अन्योल झन् गहिरिएको छ।


