चालू आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएसन टर्वाइन फ्युल (एटीएफ), मट्टीतेल आयात भएको छ ।

गएको आर्थिक वर्षको सात महिनाको तुलनामा चालू आर्थिक वर्षको यही अवधिमा ८४ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालू आर्थिक वर्षको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए ।
कार्यालयका अनुसार चालू आवको सात महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गएको आर्थिक वर्षको यही अवधिमा सबै खालको पेट्रोलियम पदार्थको आयातबाट ३८ अर्ब ६५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
चालू आर्थिक वर्षको सात महिनामा ५१ अर्ब ७९ करोड रुपैयाँ बराबरको ५ लाख ८१ सात सय ९९ किलोलिटर डिजेल आयातबाट २३ अर्ब १० करोड रुपैयाँ राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । त्यस्तै चालू आर्थिक वर्षको सात महिनामा २२ अर्ब १४ करोड रुपैयाँ बराबरको २ लाख ५५ हजार ५ सय ४२ किलोलिटर पेट्रोल आयात हुँदा १४ अर्ब ४९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
चालू आर्थिक वर्षको सात महिनाको अवधिमा २० अर्ब ९० करोड रुपैयाँ बराबरको १८ करोड २९ लाख ९४ हजार ६ सय २४ किलोग्राम एलपीजी आयात भएको छ । एलपीजी आयात हुँदा ३ अर्ब ९१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।



