कैलालीको बर्दगोरिया गाउँपालिकाले यो शैक्षिक सत्रबाट संस्थागत विद्यालयहरूलाई वर्गीकरण गर्ने भएको छ । विद्यालयले लिने शुल्कमा एकरूपता कायम गर्न तथा शिक्षाको गुणस्तर बढाउन वर्गीकरण थालिएको शिक्षा शाखा प्रमुख नन्दाकुमारी भट्टले जानकारी दिइन ।
यसका लागि गाउँपालिकाले यस अघि नै विद्यालय सँग विभिन्न विवरणहरू माग गरेको थियो । “मागिएका विवरणहरू छन् फेरि अनुगमन पनि गरिन्छ । प्राप्त विवरण सहित भौतिक संरचना, जनशक्ति र अन्य व्यवस्थापनका आधारमा शिक्षा नियमावली बमोजिम क, ख, ग र घ भनेर वर्गीकरण हुन्छन् । वर्गीकरणका आधारमा गाउँपालिकाले सुल्क निर्धारण गर्दिन्छ । यसबाट विद्यालयले लिने मनोमानी सुल्क न्यूनीकरण हुन्छ ।” शिक्षा शाखा प्रमुख भट्टले भनिन् ।
गाउँपालिकाले वैशाख महिना पछिको सुल्क नलिन समेत विद्यालयलाई परिपत्र गरेको छ । वैशाख भित्र वर्गीकरणको काम सक्ने र सुल्क निर्धारण गर्ने योजनामा गाउँपालिका छ ।
प्रकाशित :- २०८१ बैशाख २१, गते शुक्रबार