सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री बन्ने, सरकार बदल्ने र मन्त्री बन्ने गति मात्र रहेको भन्दै व्यङ्गे गरिएको छ। पाँच वर्षे कार्यकाल पूरा मुख्यमन्त्री रहेका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टले वर्तमान प्रदेश सरकारको आलोचना गरेका हुन् ।

प्रदेश सभाको आठौँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री भट्टले सुदूरपश्चिमले मुख्यमन्त्री बन्ने, सरकार बदल्ने र मन्त्री बन्ने मात्र गति लिएको बताएका हुन् । ‘मुख्यमन्त्री बन्ने, सरकार बदल्ने र मन्त्री बन्ने मात्रै गति समातेको छ,’ भट्टले भने, ‘अरू कुनै पनि गति समातेको छैन् । यसमा केन्द्रको नेतृत्वले पनि सोच्नु जरुरी छ । प्रदेशको नेतृत्वले पनि सोच्नु जरुरी छ ।’
सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालमा चौथो पटक प्रदेश सरकार परिवर्तन भएको भन्दै पूर्वमुख्यमन्त्री भट्टले असन्तुष्टि जनाए । उनले नेताहरूको चाकरी गरेर मात्र प्रदेशमा मन्त्री बन्न पाउने अवस्था रहेको समेत बताए । ‘एउटा सांसद, एउटा नेतालाई समातेर मन्त्री बन्नु पर्ने बाध्ययता किन बनेको छ,’ भन्दै उनले भने, ‘कुनै पनि पार्टीमा संस्थागत रूपमा मन्त्री बन्ने र सरकार बन्ने कुरा किन भइरहेको छैन ? ठुला पार्टीमाथि प्रश्न उठेको छ। गो गम्भीर छ। यो विषयमा बहस हुने जरुरी छ।’
हाल प्रदेश सभाको एउटै कार्यकालमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह दोस्रो पटक मुख्यमन्त्री छन्। सुदूरपश्चिममा कांग्रेस, एमाले र नागरिक उन्मुक्तिबिच सत्ता साझेदारी छ।



