
कैलालीको घोडाघोडीमा रहेको राष्ट्रिय कलेजका सहायक क्याम्पस प्रमुख उदय विष्ट नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा होमिएका छन् । राष्ट्रिय कलेजमा लामो समय प्राध्यापक रहेका विष्ट गत बुधवार मात्रै सहायक क्याम्पस प्रमुखमा नियुक्त भएका थिए । नियुक्त भए लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उनलाई बधाई दिँदै पार्टीमा स्वागत गरेका छन् ।
उनी माओवादी प्रवेश गरेपछि बधाई दिने कार्यकर्ताको लर्को छ । धेरैले सामाजिक सञ्जाल मार्फत विष्टलाई पार्टीमा स्वागत भनेका छन् । सरकारले प्रध्यापकहरुले राजनीतिक दलमा अबद्ध हुन नपाउने भनेको छ । पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले गत वैशाख ४ गते दलमा सक्रिय राजनीति गर्ने शिक्षक कर्मचारीहरूलाई कारबाही गर्ने भन्दै मन्त्री स्तरको निर्णय नै गरेकी थिइन । निर्णयको जानकारी सबै जिल्लाहरूमा समेत पत्राचार गरिएको थियो ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पनि शिक्षक कर्मचारीहरू दलको सक्रिय राजनीति गर्न नहुने उल्लेख गरेको छ । ऐनको दफा १५ को (घ) मा दलको सदस्यता लिन सरकारको स्वामित्व तथा नियन्त्रणमा रहेको स्वशासित संस्थाका बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नभएको हुनुपर्ने उल्लेख छ । तर विष्ट कलेजको वर्तमान सहायक क्याम्पस प्रमुख हुन ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा माओवादी केन्द्रका घोडाघोडी नगर कमिटी अध्यक्ष खगेन्द्र हमालले विष्ट सँग नभई आफू सँग कुरा गर्न आग्रह गरे । “म पार्टीको नगर कमिटी अध्यक्ष हो । म सँग कुरा गर्नुस् न, किन विष्ट जी चाहियो ? उनीले अहिले पार्टी प्रवेश भएका होइनन् । पहिला देखी नै हाम्रै पार्टीका मान्छे हुन । सहायक क्याम्पस प्रमुख बनेपछि पार्टी अध्यक्ष ज्युले बधाई दिनु भएको हो । पार्टीमा स्वागत गर्नु भएको होइन । कोही कार्यकर्ताहरूले कुरा नबुझेर पार्टीमा स्वागत भनेर सामाजिक सञ्जालमा हालेछन् ।” नगर कमिटी अध्यक्ष हमालले भने ।








प्रकाशित :- २०८१ भाद्र १५, गते शनिबार