साफ यू-२० च्याम्पियनसिप फुटबलको दुई पटकको उपाधि विजेता नेपाललाई स्तब्ध पार्दै बङ्गलादेशले उपाधि उचालेको छ । आज भएको खेलमा पहिलो पटक उपाधि जित्ने क्रममा बङ्गलादेशले घरेलु टोली नेपाललाई ४-१ गोल अन्तरले पाखा लगाएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उपाधि भिडन्तमा बङ्गलादेशले पहिलो हाफको इजुरी समयमा अग्रता लिएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकलाई सदुपयोग गर्दै मिराजुलले सोझै गोल गरेका थिए ।
दोस्रो हाफमा नेपालले आक्रामक खेल देखाए पनि गोल भने बङ्गलादेशले ग¥यो । खेलको ५५ औं मिनेटमा मिराजुलले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ७१ औं मिनेटमा रवि हुसेनले डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा सहजै गोल गर्दै टोलीलाई ३-० को स्थितिमा पुर्याए ।
खेलको ८१ औं मिनेटमा नेपालका लागि सान्त्वना गोल समिर तामाङले फर्कायो । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेटको इन्जुरी समयमा
गोलका केही प्रयास गरे पनि गोल भने गर्न सकेन । उल्टै खेलको ९६ औं मिनेटमा बङ्गलादेशले नै गोल गर्दै ४-१ ले जित सुनिश्चित ग¥यो ।
नेपालले यसअघि दुई पटक उपाधि जितेको थियो । तेस्रो पटक च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य राखेको सपना बङ्गलादेशले तुवाई दिएको छ ।
खेलको पहिलो हाफमा नेपालले गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । खेलको नवौँ मिनेट निराजन धामीको लामो प्रहार बङ्गलादेशका मोहम्मद आसिफले मुश्किलले बचाए । उनले बललाई पञ्च गर्दै सङ्कट टारेका थिए । १३ औं मिनेटमा निराजनको अर्को लामो तर बङ्गाली गोलकिपरलाई लागेर बाहिर गयो ।
नेपालले २१ औं मिनेटमा अर्को राम्रो अवसर गुमायो । निराजनले उपलब्ध गराएको पासमा अविनाश स्याङ्तानले फितलो प्रहार गरे । ३० औं मिनेटमा सीमान्त थापा फ्रिकिक बारमाथिबाट बाहिर गयो । यस्तै ३१ औं मिनेटमा निराजनले बक्स बाहिरबाट हानेको अर्को प्रहार पोष्ट नजिकबाट बाहिर गयो ।
पहिलो हाफमा बङ्गलादेशले अन्तिम समयमा पाएको अवसरमा गोल गर्दै अग्रता लियो । मिराजुल इस्लामले ४६ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाए । नेपालका निरज कार्कीले बङ्गलादेशका मिराजुल इस्लामलाई पेनाल्टी बक्स भन्दा थोरै बाहिर फल गरेपछि बङ्गलादेशले फ्रीकिक पाएको थियो । त्यसमा मिराजुलले हानेको प्रहार पोष्टमा लागेर गोलमा परिणत भएको हो । पहिलो हाफमा गोल खाएपछि दोस्रो हाफको सुरुदेखि नेपाल बराबरी गोल फर्काउने प्रयासमा लागेपनि सफल हुन सकेन ।
बङ्गलादेशी टोलीले नेपाल आएर जितेको यो चौथो उपाधि हो ।
सन् २०१८ मा साफ यु-१५ को उपाधि जितेको बङ्गलादेशको सिनियर महिला टोलीले २०२२ मा साफ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।
साफ महिला च्याम्पियनसिपको फाइनलमा पनि नेपाल बङ्गलादेशसँग ३-१ ले नै पराजित भएको थियो । यस्तै २०२४ मै नेपालमा भएको साफ यु-१५ च्याम्पियनसिपको उपाधि पनि बङ्गलादेशले जितेको थियो ।