कैलाली: नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अहिलेको सत्ता समीकरण बचाउन आफ्नो दलले सुदूरपश्चिममा मुख्यमन्त्रीकाे पद छोडेको बताएकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै आज धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनमा असर नपारोस् भन्नको लागि र गठबन्धन बलियो बनाउन आफू एक कदम पछाडि हटेको बताएकी हुन् ।
उनले भनिन्, ‘सत्ता समीकरण बचाउन र सम्भावित राजनैतिक दुर्घटना हुन नदिन म एक कदम पछि हटेको हुँ, हामीले मुख्यमन्त्री पाउँदै थियौं । तर, अहिले हाम्रो एक जना भौतिक पूर्वाधार मन्त्रालयमा जानुभएको छ । अर्को सांसद पनि मन्त्रालय तोक्ने बित्तिकै सरकारमा जानुहुन्छ ।’
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष पक्षका दुई सांसद छन् । एक जनाले भौतिकमन्त्रीको शपथ ग्रहण गर्दा अर्की सांसद टीका थापाले भने शपथ ग्रहण कार्यक्रम नै बहिस्कार गरेकी थिइन् ।
उनले सामाजिक सञ्जालमा वर्तमान सरकारलाई आफ्नो समर्थन नरहेको समेत उल्लेख गरेकी थिइन् । आज अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्य थापाले फेसबुकमा लेखेको कुरालाई लिएर सरकारको समर्थन फिर्ता लिएको बुझ्न नहुने बताइन् ।
‘फेसबुकबाट राजनीति हुँदैन, उहाँ टीका थापाले विनाविभागीयमन्त्री नखाने भन्नुभएको हो । विभाग तोकिएपछि शपथ लिनुहुन्’, उनले भनिन् ।
अध्यक्ष श्रेष्ठ नेता कार्यकर्ताहरूसँगको भेटघाटपछि आजै काठमाडौं फर्किएकी छन् ।