
इलाका प्रहरी कार्यालय सुखडले शनिवार बिहान ४६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

घोडाघोडी नगरपालिका भित्रका हाइवे क्षेत्रका विभिन्न बजारमा इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी दीपेन्द्र कुमार पालको कमाण्डमा प्रहरीले उक्त परिमाणको मदिरा नष्ट गरेको हो ।
घोडाघोडी नगरपालिकाको पहलमानपुर, सुखड र साडेपानीमा सञ्चालनमा रहेका होटलहरुमा लुकाई छिपाइ राखिएको मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी दीपेन्द्र कुमार पालले जानकारी दिए ।
बरामद गरिएको मदिरा वडा नम्बर सातका वडाध्यक्ष जुगराम चौधरी वडा नम्बर एकका वडा सदस्य धुर्ब गौतम, अमन चौधरी, घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा गौतम, समाजसेवी र पत्रकारको रोहवरमा नष्ट गरिएको हो। बढ्दो घरेलु हिंसा र समाजमा हुने गरेका विभिन्न आपराधिक गतिविधिको रोकथामका लागि प्रहरीले मदिराको अवैध निर्यात रोक्न नियमित जाँच गर्ने डिएसपी पालले बताए ।
समाजलाई सभ्य र सुरक्षित राख्न आग्रह गर्दै पालले प्रतिबन्धित मदिरा तथा लागूपदार्थ बिक्री वितरण नगर्न सबैमा आग्रह समेत गरेका छन् ।
