लोकु सिंह ठकुरी, कैलाली ।
बिहानीपख हुस्सुले जम्मै ढाकेको लम्की चौराहा दनदनी बलिरहेको आगो अनि वरिपरि गोलो आकारमा झुम्मिएका मानिस । यो दृश्य हो कैलालीको लम्की चौराहाको । एका बिहानै मोटरसाइकलमा कुदेका हामी आगो देखेपछि रोकिएर हात सेक्न त्यही भिडमा मिसियौ ।
“गुप्ता दाइ तमि १ सय २० वर्ष बाच्या, यसो चिसोमा कस्तो राम्रो काम हरेका छन् ।” आगो तापिरहेकी एक महिलाको आवाज सुनियो । “गुप्ता दाइ भएर त आगो ताप्न पाइएको छ । धर्मै हुन्छ यिनलाई ।” अर्की महिला बोलिन ।
नगरपालिका वा बजार समिति वा सामुदायिक वन समितिले चौकमा दाउरा वितरण गरेको रहेछ भन्ने सोचेका हामी आगो ताप्दै गरेका महिलाका कुरा सुनेर अचम्मित भयौ । “के गर्ने हजुर, आफूलाई पनि चिसो हुन्छ । यहाँनेर प्रहरी बसिरहन्छन् । आउने जाने मान्छे पनि हुन्छन् । यसो हात सेकाउलान् भनेर नि ।” रातो टोपी लगाएका र सेत्तै दारी भएका एक पुरुष बोले । उनै रहेछन् गुप्ता दाइ । नाम छोटे लाल गुप्ता भए पनि सबैले गुप्ता दाइ नै भन्दा रहेछन् । उनको घर भारतको पलिया हो तर विगत ३० वर्ष देखि उनका लागि नेपाल नै घर जस्तो बनेको छ ।
उनले विगत ३० वर्ष देखि चिसो मौसममा दैनिक रूपमा दाउरा किनेर लम्की चौक न्यानो पार्दै आएका रहेछन् । “उ त्यो मेरो पसल हो हजुर ।” चटर चाट भण्डार लेखेको ठेला देखाउँदै उनले भने, “चाट बेच्छु । धेरै पहिला देखि हजुर । २०५० सालमा बुवा आमा सँगै नेपाल आएको हो । आए देखि नै चाट पसल गर्दै आएछु ।”
हाम्रो कुरा गराइ र प्रश्न सोधाई देखेर होला एक जना दाइले सोधिहाले तपाइहरू पत्रकार हो कि क्या हो ? मेरो छेउमै उभिएका खेम ढुङ्गानाले जवाफ दिए, हो हो हामी पत्रकार हौँ । नेत्र गुरु (नेत्र भण्डारी) ले सहयोग गर्दै छन् अरे त्यसैले सुर्खेत जान हिँडेका । पत्रकार वीरेन्द्र शाह बोले । हामी नेत्र भण्डारी संयोजक रहेको “जसको कोही छैन त्यसको हामी छौ” अभियानले सुर्खेतको राजी बस्तीमा गर्ने सहयोग हस्तान्तरण कार्यक्रममा सरिक हुन बिहानै लम्की पुगेका थियौ ।
गुप्ता दाइले अवस्था हेरेर दैनिक ५ सय देखि १ हजार ५ सय सम्मको दाउरा खरिद गर्दा रहेछन् । “किनेर घरमा राखेको छैन हजुर, दिनदिनै किन्ने हो । बिहान उता गाउँ तिर जान्छु कहिले ५ सयको ल्याउँछु । बढी जाडो भयो भने त १५ सय सम्मको पनि ल्याउँछु । आज होइन हजुर, ३० वर्ष देखि हाम्रो यही चल्दै छ ।” उनले भने ।
नगरपालिका, वन समिति वा उद्योग वाणिज्य सङ्घले दाउरा वितरण गर्दैन र भन्ने हामीमा जिज्ञासा भयो । “कहिलेकाहीँ दिन्छ । ठुला मुडा, रुखको जरा यस्तै दिन्छ । त्यो भयो भने गुप्ता दाइले थोरै ल्याउनु हुन्छ । सल्काउन सजिलो हुन्छ नि त ।” एक महिलाले भनिन् ।
गुप्ता दाइको कुरा सुन्दा सामान्य रूपमा पनि दाउराको मात्रै महिनाको १५ हजार खर्च हुने देखिन्छ । यत्रो खर्च गरेर आफूलाई फाइदा के त ? उनी भन्छन्, “यस्तै हो हजुर भगवान्ले अहिले सम्म पुगाकै छ । फेरि वर्षभरि पनि किन्नु पर्दैन । जाडो हुने बढीमा २ महिना हो । वर्षको त्यही ३०/३५ हजार खर्च गर्छु ।” ३० वर्ष देखि नेपाल बस्दा पनि नागरिकता नपाउने नीति चाहिँ उनलाई मन नपरेको अरे ।
“आमा यतै गुजर्नु भो, म पनि यतै गुजर्ने हो अब । भारत भन्दा नेपाल आफ्नो जस्तो लाग्छ अचेल । कोही नेपाली यति लामो समय भारतमा बसेको भए आधार कार्ड पाइहाल्थ्यो । तर यहाँ त केही मिल्दैन ।”
गुप्ता दाइका ३ सन्तान, २ छोरा १ छोरी । सन्तानलाई धेरै पढाउने सपना बोकेका गुप्ता दाइले ब्ययभार धान्न नसके पछि बिचैमा पढाइ छोडेर छोराहरू पनि व्यापार मै लागेका छन् । कुराकानी गर्दै गर्दा नेत्र भण्डारी सरको फोन आयो र सुर्खेतको यात्रा तिर अघि बढ्यौ ।
प्रकाशित :- २०८० पुष १६, गते सोमबार