
मानव तस्करीको आरोपमा आइतबार बिहान कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका परे । उनलाई आज बिहान उनकै निवासबाट पक्राउ गरी विराटनगरबाट हवाइजहाज मार्फत काठमाडौं ल्याइपु¥याएको हो ।


अधिकारीले पक्राउपरेपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै आफू कानुनभन्दामाथि नरहेको र अनुसन्धानलाई सघाउन तयार रहेको बताएका थिए ।
अधिकारीले कोशी प्रदेशका मुख्यमन्त्री र आफ्नो पार्टी नेकपा एमालेलाई समेत कुनै जानकारी नदिई फर्जी कागजात बनाइएका तीन जना व्यक्तिसहित जापान गएका थिए थिए । जापानबाट उनीसहित चारै जनालाई विमानस्थलबाटै नेपाल फर्काइएको थियो ।
नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । शंकास्पद कागजातका कारण जापानबाट फर्काइएपछि त्रिभुवन विमानस्थलमा अघिल्लो शनिबार आइपुगेका चारै जनालाई अध्यागमन कार्यालयले अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाउने तयारी गरेको थियो ।

अधिकारीले आफू मन्त्री भएको भन्दै परिचयपत्र देखाएपछि प्रहरीले छाडेको थियो । अधिकारीको साथमा रहेका रसुवाका कञ्चन देवकोटा तथा खोटाङका दावा शेर्पा र जनक राई तत्कालै समातिएका थिए । अध्यागमनले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।

ती तीन जनाको बयानका आधारमा प्रहरीले नुवाकोट विदुरका जुगल रिजाल, दोलखा जिरीका वीरबहादुर सुनुवार र धादिङ त्रिपुरासुन्दरीका महेश पाण्डेलाई पनि पक्राउ गरेको थियो । जापानबाट फिर्ता गरिएका युवाले पाण्डेलाई प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको बयान दिएका छन् ।
उनीहरूमाथि पछिल्लो समय जिल्ला प्रहरी परिसर काठमाण्डौले अनुसन्धान गरिरहेको छ । जिल्ला अदातल काठमाण्डौले अनुसन्धानका लागि थप ४ दिन हिरासतमा राख्न गत शुक्रबार प्रहरीलाई अनुमति दिएको छ ।

जापानबाट फर्काइएका तीन जनामध्ये शेर्पासँग खोटाङको ऐंसेलुखर्क–२ को वडा सदस्यको नक्कली परिचयपत्र थियो भने देवकोटा र राईले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारीको परिचयपत्र बोकेका थिए । कर्मचारीको परिचयपत्रमा ‘निमित्त कार्यालय प्रमुख’ का रूपमा अधिकारीकै हस्ताक्षर छ । नक्कली परिचयपत्र प्रहरीले बरामद गरिसकेको छ ।

