
कैलारी : कैलालीको कैलारीमा कालीमाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २ सय किसानबाट पावर टिलर र पानी मोटर वितरणका लागि रकम सङ्कलन गरेको थियो ।


कैलारीमा सञ्चालनमा रहेको कालीमाई सहकारीले १ लाख १७ हजारका दरले २ सय किसानबाट रकम उठाएको थियो । कालीमाईले २ सय किसानबाट जम्मा २ करोड ३४ लाख रुपैयाँ सङ्कलन गरेको छ । ५८ हजार ७ सय ५० रुपैयाँको अनुदानमा बिक्री गर्नुपर्ने पावर टिलरमा सहकारीले १ लाख १७ हजार रुपैयाँसम्म असुल गरेका थिए ।
कालीमाईले किसानबाट सङ्कलन गरेको रकम प्रत्येक वडाहरुमा पुगेर फिर्ता गर्न थालेको छ । कैलारी गाउँपालिकाका ५ नम्बर वडासम्मका किसानहरूको रकम फिर्ता गरिएको छ । कालीमाई सहकारीका अध्यक्ष अमृत चौधरीले प्रत्येक वडाहरूमा रकम फिर्ता गर्न सहकारीको टोली पुग्ने गरेको बताए । उनले भने, ‘किसानहरू सामान चाहियो भन्छन् । तर, हामीले रकम नै फिर्ता गर्न थालेका छौ ।’

बाल सशक्तीकरण नेपाल, काठमाण्डौले कैलारी गाउँपालिका क्षेत्रका १ सय किसानबाट पावर टिलर र पानी मोटर वितरणका लागि रकम सङ्कलन गरेको थियो । बाल सशक्तीकरणले १ लाखका दरले किसानबाट रकम उठाएको हो । किसानबाट १ करोड रुपैयाँ सङ्कलन गरेको बाल सशक्तिकरणले समेत रकम फिर्ता गर्न थालेको छ । किसानहरूले माग गरेका सामानसहित ३० हजारका दरले रकम फिर्ता गर्न थालिएको छ ।

बाल सशक्तिकरणले १५ बढी किसानको सामानसहितको आधा रकम फिर्ता गरेको छ । बाल सशक्तीकरण नेपालका अध्यक्ष योगेश योगीले सामान वितरण गर्ने गरेको बताए । बाँकी रकम फिर्ता गर्दै आएको उनको भनाई छ । सुरो नेपाल संस्थासँग ७५ प्रतिशत अनुदानमा पावर टिलर र पानी मोटर वितरणको सम्झौता गरेको अखुवा कृषि सहकारी संस्थाले समेत किसानको रकम फिर्ता गर्न थालेको छ ।

सहकारी र सुरो नेपालको बिचमा २०८१ असार ११ गते सम्झौता भएको थियो । सम्झौतामा ५४ जना किसानलाई पावर टिलर र ४५ जना किसानलाई पानी मोटर वितरण गर्ने भनिएको छ । अखुवा सहकारीले किसानबाट १ लाख २५ हजारसम्म सङ्कलन गरेको छ । किसानलाई पावर टिलरको कुल मुल्यको २५ प्रतिशत मात्र तिर्न लगाउने सम्झौता गरेको अखुवाले प्रति किसानबाट ६६ हजार २ सय ५० रुपैयाँ बढी रकम लिने योजना बनाएपछि विरोध भएको थियो ।

कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले वडा/वडामा सहकारीको टोली पुगेर रकम फिर्ता गर्न थालेका बताए । उनले भने, ‘रकम जम्मा गरेका किसानको फोनमा म्यासेज गरेका छन् । प्रत्येक वडामा टोली जाने गरेको छ । उहाँहरूले सहकारीमा जम्मा भएको रकम फिर्ता हुने गरेको हो ।’ कैलालीमा पावर टिलरको नाममा ठगीमा परेका ३ सय ५४ किसानको रकम फिर्ता गर्ने काम भइरहेको छ । कैलारी गाउँपालिका क्षेत्रका किसानबाट रकम सङ्कलन गरेका बिचौलियाहरुको विषयमा भने खुलेको छैन । बिचौलियाहरुको विरुद्धमा कैलारी गाउँपालिका र जिल्ला प्रहरीमा निवेदन समेत परेका छैनन् ।
