
थारु समुदायको कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कैलालीमा राष्ट्रिय थारु म्युजिक अवार्ड २०८० हुने भएको छ । बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिको आयोजनामा चैत्र ३ गते अवार्ड कार्यक्रम हुने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
नेपालमा पहिलो पटक थारु चलचित्र, म्युजिक भिडियो तथा थारु लोक कला क्षेत्रका कलाकारहरूलाई सम्मान स्वरूप राष्ट्रिय स्तरको अवार्ड आयोजना गरिएको बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिका अध्यक्ष हरेन्द्र चौधरीले बताए ।
उनकाअनुसार म्युजिक अवार्डमा देशभरका सम्पूर्ण थारु कलाकारलाई उत्साहपूर्वक सहभागिता गराउने लक्ष्य राखिएको छ । जसका लागि ७ वटै प्रदेश तथा जिल्ला कार्यसमिति मार्फत कलाकार मनोनयन प्रक्रियामा सहभागी गराउन राष्ट्रिय थारु कलाकार मञ्च केन्द्रीय समिति मार्फत हरेक प्रदेश समितिसहित सबै कलाकारहरूलाई समन्वय गरिनेछ ।
म्युजिक अवार्डमा सर्वोत्कृष्ट आधुनिक गायनतर्फ पुरुष र महिला, सर्वोत्कृष्ट लोकगीत गायनतर्फ पुरुष र महिला, सर्वोत्कृष्ट पप गायनतर्फ पुरुष र महिला, सर्वोत्कृष्ट गायनतर्फ पुरुष र महिला विधामा मनोनयन दर्ता गर्न सकिनेछ ।त्यस्तै, सर्वोत्कृष्ट फिल्म स्क्रिप्ट लेखन, गीत स्क्रिप्ट लेखन, फिल्म निर्देशक, म्युजिक भिडियो निर्देशक, द्वन्द्व निर्देशक, सङ्गीतकार, छायाकार, दृश्य सम्पादक मनोनयन दर्ता गर्न सकिनेछ । सर्वोत्कृष्ट नव प्रतिभातर्फ पुरुष र महिला, सर्वोत्कृष्ट एल्बम, गीत, मोडलतर्फ पुरुष र महिला,, सर्वोत्कृष्ट युगल मोडल, म्युजिक कम्पनी, कला पत्रकारिता गरि २५ विधामा मनोनयन दर्ता गर्न खुला गरिएको छ ।
अवार्ड कार्यक्रममा सहभागीताका लागि यही माघ २१ गतेदेखि (ग्लोबल अनलाइन पे) अनलाइनमार्फत मनोनयन दर्ता प्रक्रिया खुल्ला गरिने आयोजकले जनाएको छ ।


प्रकाशित :- २०८० माघ २२, गते सोमबार