कैलालीको अत्तरियामा सञ्चालन भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली टिकट प्रकरणमा दुई जना विरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । महोत्सवमा टिकट व्यवस्थापनको जिम्मा पाएका दिलीप कुमार साउँद र भुवन महरा विरुद्ध छानबिनको माग गर्दै अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष सहितले सोमबार किटानी जाहेरी दिएका हुन ।
“नक्कली टिकट प्रकरणमा आन्तरिक रूपमा छलफल गरेर संलग्नलाई गल्ती स्वीकार गर्न आग्रह गर्यौ तर उनीहरूले त्यसो गरेनन् । त्यसपछि हामीले उनीहरू विरुद्ध अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका छौ ।” अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष कल्याण सिंह बोहराले भने ।
साउँद अत्तरिया उद्योग वाणिज्य सङ्घका सचिव तथा गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टका स्वकीय सचिव समेत हुन भने महरा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति हुन । प्रहरीका अनुसार उनीहरू विरुद्ध किटानी जाहेरीको निवेदन प्रहरीमा पुगे पनि दर्ता भने भएको छैन । स्रोतका अनुसार काँग्रेस नेता कार्यकर्ताहरूले जाहेरी दर्ता नगर्न प्रहरीलाई दबाब दिइरहेका छन् ।
प्रहरीले जाहेरी दर्ता प्रक्रियामा रहेको बताए पनि उनीहरूको आन्तरिक विवाद र आएको दबाबका कारण जाहेरी दर्ता गर्ने नगर्ने विषयमा प्रहरी नै अन्योलमा परेको छ । यता अध्यक्ष बोहराले भने जाहेरी दर्ता भइसकेको दाबी गरेका छन् । महोत्सवमा नक्कली टिकट बिक्री भएको भेटिएपछि अनुसन्धानको माग गर्दै यसअघि प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापन पत्र बुझाइएको थियो ।
प्रकाशित :- २०८० माघ १६, गते मंगलवार