कैलालीमा करिब २ दशक देखी बन्द अवस्थामा रहेको बासुलिङ सुगर मिलको अनुगमन गरिएको छ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको चिनी उद्योग तथा किसानका समस्या समाधान उप–समितिले शनिवार जिल्लाको लम्किचुहा नगरपालिका १० मा रहेको बन्द चिनी मिलको अनुगमन गरेको हो ।
सो उप–समितिका सभापति कृष्ण कुमार श्रेष्ठ (किसान) नेतृत्वको अनुगमन टोलीलाई चिनी उद्योगका तर्फबाट डबल बहादुर शाहले बस्तुस्थितबारे जानकारी गराएका थिए । यस्तै प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी र लम्किचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीले पनि चिनी मिलको विगत र वर्तमान वस्तुस्थितिका बारेमा प्रस्ट्याएका थिए ।
सो क्रममा चिनी उद्योगका तर्फबाट डबल बहादुर शाहले बन्द अवस्थाको चिनी उद्योगको अनुगमनमा विगत देखी नै सांसद देखी मन्त्री सम्म आउने गरेको भए पनि सञ्चालनमा भने सरकारले कुनै चासो नदिएको दुखेसो गरे । बैङ्कको ब्याज, उखु किसानलाई तिर्न बाँकी रकमको जोहो गर्न उद्योग सँग भएको जग्गा बिक्री गर्नुको विकल्प नभएको भन्दै उनले सरकारका प्रतिनिधिहरूले चिनी उद्योग सञ्चालकसँग भेट गरी यसको निकास निकाल्न आवश्यक रहेको बताए ।
यता प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीले बन्द चिनी उद्योग सञ्चालन आफ्नो चुनावी एजेन्डा नभए पनि आफ्नो क्षेत्रको ठुलो उद्योग पुनः सञ्चालनका लागी सक्दो प्रयास र समन्वय गरिरहेको बताए । उता लम्किचुहा नगरपालिकाका प्रमुख शाहीले चिनी उद्योग बन्द हुँदा सामान्य कामदार देखी उखु किसान सम्म मात्र होइन समग्र सुदूरपश्चिम पछाडि परेको भन्दै सरकारले उद्योग सञ्चालनको नीति अघि सार्नु पर्ने बताइन । उद्योग सञ्चालनका लागी आवश्यक परे नगर सरकार समेत शेयर साझेदारीका लागी तयार रहेको बताइन ।
बन्द उद्योगको अनुगमन गर्दै चिनी उद्योग तथा किसानका समस्या समाधान उप–समितिका सभापति कृष्ण कुमार श्रेष्ठ (किसान) ले चाँडै उद्योग सञ्चालक सँग भेट गरी समस्या पहिचान गर्दै अल्झिएको गाँठो फुकाउन आवश्यक पहल गर्ने र सरकारको ध्यान समेत केन्द्रित गराउने प्रतिबद्धता जनाएका छन् ।
यती ठुलो उद्योग जीर्ण बन्नु राष्ट्रकै लागी हानी हुने कुरा हो । यो यथाशीघ्र सञ्चालन हुन आवश्यक छ । म त्यसका लागी भरपुर रूपमा छलफल र समन्वय गर्छु । उनले भने,… “पत्रकार साथीहरू यही हुनुहुन्छ । यसलाई अन्यथा मान्नु हुन्न भने, अर्को अर्थ लाग्दैन भने यो उद्योग सञ्चालनका लागी म पनि सक्ने जति शेयर लिएर काम गर्न तयार छु ।”
२०५४ सालबाट सञ्चालनमा आएको यो चिनी उद्योग २०६२/०६३ बाट पूर्ण रूपमा बन्द अवस्थामा छ । तत्कालीन सशस्त्र द्धन्दको चपेटामा परेर यो उद्योग बन्द भएको धेरैको दाबी छ । यो सञ्चालनमा आए १५ हजार उखु कृषक प्रत्यक्ष लाभान्वित हुने छन् भने रोजगार सृजना सँगै देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने छ ।
प्रकाशित :- २०८० मंसिर ३०, गते शनिबार