
छाडा पशु चौपायाका लागी कैलालीको बर्दगोरिया गाउँपालिकाले घाँसको जोहो गर्न थालेको छ । गाउँ सरकारले व्यवस्थापन गरिरहेको बर्दगोरिया गौशालामा अहिले सय बढी गाईहरू छन् ।
पशुका लागि केही दिन अघि परालको जोहो गरेको गाउँपालिकाले बुधवार डेढ बिघा क्षेत्रफलमा घाँसको घिउ छरेको छ । वडा नम्बर–४ झरझरियामा गाउँपालिका प्रमुख कर्णबहादुर कुँवरको टोली आफै पुगेर घाँसको बिउँ रोपेको हो ।
गाउँपालिकाले एक समिति निर्माण गरी व्यवस्थापनमा कडाइ गरेपछि यति बेला छाडा पशु चौपायाहरू सडक तथा खेतबारीमा देखिन छोडेका छन् । पशुहरूको रेखदेख तथा अन्य व्यवस्थापनको काम बर्दगोरिया गौशाला सञ्चालक समितिले गर्दै आएको छ । भने गाउँपालिकाले निरन्तर निगरानी गर्दै आएको छ ।
छाडा पशु चौपायाले सडक दुर्घटना देखी किसानलाई समेत समस्यामा पार्न थाले पछि बर्दगोरिया गाउँपालिकाले पशु चौपायाहरूको व्यवस्थापन गर्दै आएको छ ।अघिल्लो गाउँ सरकारले पशु चौपाया व्यवस्थापन थालेको बर्दगोरिया गौशालालाई वर्तमान गाउँ सरकारले थप व्यवस्थापनमा जोड दिँदै आएको छ । अहिले प्राङ्गारिक मल उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । भने पशु चौपायाको मूत्र सङ्कलन तथा व्यवस्थापनको काम पनि अघि बढाइने गाउँपालिकाले जनाएको छ ।


प्रकाशित :- २०८० कार्तिक २२, गते बुधबार