
नेकपा एमालेका सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले प्रदेश संरचनाको अभ्यास राम्रो नभएको प्रतिक्रिया दिएका छन् । उनले शुक्रवार धनगढीमा भएको पत्रकार भेटघाटका क्रममा यस्तो बताएका हुन ।

“प्रदेश संरचनाको अभ्यास पनि राम्रो गर्न सकेनौ भन्छु म । व्यक्तिगत रूपमा भन्नु हुन्छ भने मैले त्यो अनुभूति गर्छु । प्रदेशकै संरचना माथि प्रश्न उठ्ने खालको परिस्थिति बन्यो नि त । हामीले यसको अभ्यास राम्रो गर्न नसकेरै यस्तो भएको भन्ने लाग्छ मलाई ।” एमाले सचिव विश्वकर्माले भने ।
उनका अनुसार केन्द्रले धेरै अधिकार प्रदेशलाई दिन चाहेन भन्ने प्रदेशको आरोप छ । भने प्रदेशले पनि प्राप्त हक अधिकारलाई सही ढङ्गले कार्यपुर दिन सकेको अवस्था पनि देखिँदैन । कतिपय अवस्थामा विकास निर्माणका काममा तिनै तहका सरकारले एउटै प्रकृतिका योजना हाल्ने गरेको उनको भनाई छ । हुनु पर्ने त्यस्तो होइन । उनले थपे,… “योजना त केलाउनु प¥यो नि । विकासका काम कति स्थानीय तह मार्फत गर्छौ । कति प्रदेश र सङ्घ मार्फत गर्छौ भन्ने कुरा त आपसी समन्वय र छलफलका माध्यमबाट योजनाको खाका निर्माण गर्नु प¥यो ।” राष्ट्रिय गौरवका योजनाका नाममा तिनै तहका सरकारले एउटै प्रकृतिका योजना बनाउन नहुने उनको बुझाई छ ।
