
कैलालीमा जुवा र कौडा खेलेको आरोपमा २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–७ गौरीचोकबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कबिन्द्र सिंह बोहराले स्थानीय सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार बिहान उनीहरूलाई पक्राउ गरिएको बताए ।
उनीहरूको साथबाट ८८ हजार दुई सय नगद र दुई गड्डी तास बरामद गरिएको बोहराले बताए ।
यस्तै, कौडा खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरिएको छ ।
गौरीगंगा नगरपालिका–१ को गोप्कामा भैरव चन्दले सञ्चालन गरेको रोयल फेमली रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेका २० जनालाई पक्राउ गरिएको डिएसपी बोहराले बताए ।
उनीहरूको साथबाट ६ थान कौडा, ७९ हजार ९११ रुपैयाँ नगद र १८ वटा मोबाइल बरामद गरिएको छ ।
पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित :- २०८१ कार्तिक १९, गते सोमबार