कैलालीको बर्दगोरिया गाउँपालिकामा सञ्चालनमा आएको बर्दगोरिया कलेजका विद्यार्थीहरूलाई सोमबार एक कार्यक्रमका बिच स्वागत गरिएको छ । यसै वर्षबाट सञ्चालनमा आएको कलेजले स्नातक प्रथम वर्षको अध्यापन सुरु गरेको हो ।
कलेजका अध्यक्ष भीमबहादुर कुँवरको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर र विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी रहेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले सबैको सहयोगले क्याम्पस सञ्चालन गर्न सम्भव भएको भन्दै उनले कक्षा १० सम्म निःशुल्क शिक्षा लागु गरिए जस्तै कलेजमा पनि अति न्यून शुल्कमा अध्यापन गराउने बताए । “हामी सबैको सहयोगले क्याम्पस स्थापना भयो । यसलाई मलजल गरी हुर्काउनु छ । त्यसका लागी पनि हामी सबैको सहयोग महत्त्वपूर्ण हुन्छ । स्थानीय सरकारका तर्फबाट हामीले गर्नु पर्ने दायित्व इमानदार पूर्वक पुरा गर्नेछौ ।” उनले भने ।
क्याम्पसको आवश्यकता भए पनि लामो समय देखी स्थापना हुन सकेको थिएन । जसका कारण यस क्षेत्रका विद्यार्थीहरू अन्यत्र जानु पर्ने र खर्चिलो हुने समस्या थियो । हाल कलेजको भवन निर्माणका लागी डिपिआर तयार पारिएको छ भने प्रदेश सरकार सँगको लागत साझेदारीमा भवन निर्माणको काम समेत अघि बढाइएको छ ।
२०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनबाट पालिकामा नयाँ नेतृत्व आए सँगै क्याम्पस स्थापनालाई प्रमुख मुद्दा बनाइएको थियो । जसबाट पालिकाले लक्ष्य समेत भेटेको छ । यसै वर्षबाट सञ्चालनमा आएको क्याम्पसमा करिब डेढ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
प्रकाशित :- २०८० फाल्गुन २८, गते सोमबार